पु.समाचार

समानूपातिकतर्फको मतपरिणामः यस्तो देखियो एमाले र कांग्रेसको प्रतिस्पर्धा !

काठमाण्डौ । प्रदेश र प्रतिनिसभा निर्वाचनको समानूपातिकतर्फको मतगणना पनि सकिएको छ । समानूपातिकतर्फको मतगणनाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसको बराबरजस्तै मत आएको छ भने माओवादी केन्द्र (समानूपातिकतर्फमात्र) तेश्रो स्थानमा देखिएको छ ।

निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएकोमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको छ । त्यस्तै मधेसवादी दल राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २ सय ५४ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ मत प्राप्त गरेको छ । यसरी हेर्दा नेकपा एमाले,कांग्रेस र माओवादी केन्द्रले क्रमसः ४१,४० र १७ जना सांसदहरु पाउने भएका छन् ।

समानूपातिकको मतपरिणाम अनुसार नेकपा एमालेपछि नेपाली कांग्रेस र त्यसपछि माओवादी केन्द्र देखिएको छ । मधेसवादी दलहरु राजपा र फोरमले ६–६ सिट प्राप्त गर्ने भएका छन् ।

प्रत्यक्षतर्फ निकै तल देखिएको कांग्रेस भने समानूपातिक मतमा दोश्रो देखिएको छ । यसले पनि के पुष्टि हुन्छ भने कांग्रेसको प्रत्यक्षतर्फको मत एमाले र माओवादी केन्द्र मिलेर खस्किएको हो । पार्टीलाई प्राप्त हुने मतका आधारमा कांग्रेस निकै अगाडि देखिएको छ ।