राजनीति

कांग्रेसलाई संकटबाट जोगाउने हो भने यसरी बन्नुपर्छ अबको नयाँ नेतृत्व !

काठमाण्डौ । नयाँ संविधान कार्यान्वयनको चरणमा भएको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा देशकै सबैभन्दा मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई धक्का लागेको छ । नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा कांग्रेसको ठूलो भूमिका रहेको छ ।

मुलुकमा प्रजातन्त्रलाई स्थापित गर्नेदेखि पछिल्लो शान्ति प्रक्रिया हुँदै नयाँ संविधान निर्माण र कार्यान्वयनमा कांग्रेसको ठूलो र महत्वपूर्ण भूमिका रहेको छ र आगामी दिनमा पनि यसको नेतृत्व उसैले गर्नुपर्ने बहस जारी छ । तर यही बीचमा भर्खरै सम्पन्न निर्वाचनमा कांग्रेसको हार नेपालको राजनीतिमा निकै ठूलो दुर्घटनाको रुपमा लिन थालिएको छ ।

मुलुकको राजनीतिक शक्ति समीकरण र संसदमा कांग्रेसको भूमिका अनिवार्य छ तर संसदमा आवश्यक कांग्रेसका धेरै नेताहरुले हार बेहोर्नुपरेको छ । राष्ट्रिय राजनीतिमा मात्र होइन, कांग्रेसको आन्तरिक पार्टी संगठनभित्र पनि यो विषयमा बहस उठान भएको छ ।

पार्टी नेतृत्व कहाँ चुक्यो ? लामो समय प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको कांग्रेसले अन्ततः किन यति धेरै ठूलो धक्का खानुपर्यो ? के कांग्रेसको आन्तरिक संगठनभित्रको कमजोरी मात्रै यसको कारण हो ? यी आदि विषयमा सो पार्टीभित्र बहस चर्काउनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

पार्टीको देशव्यापी हारलगत्तै कांग्रेसका युवा नेता गगन थापाले पार्टी पुनःसंरचना गर्नुपर्ने कुरामा जोड दिँदै तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने बताउन थालेका छन् । युवा नेता गगनको यो प्रस्तावमा कांग्रेसका अधिकांश युवा नेता र कार्यकर्ताहरुले सहमति जनाउने सम्भावना देखिन्छ । तर कांग्रेस हाँक्ने सवालमा पार्टीभित्र फरक किसिमले बहस चल्न सक्ने देखिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चलिरहेको कांग्रेसलाई धक्का लाग्नुमा के उनको नेतृत्वलाई मात्र दोष जान्छ ? यो सवालमा कांग्रेसभित्र अहिले नयाँ ढंगले बहस सुरु हुँदैछ । एकथरी कांग्रेस कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टीको यो हविगत भएको आरोप लगाउँदै छन् भने अर्कोथरी कार्यकर्ताहरु स्व.गिरिजाप्रसाद कोइरालाको पालादेखिनै कांग्रेसको अधोगति सुरु भएको देख्छन् ।

कसैले कांग्रेसको यो हालत बनाउनमा नेता कृष्णप्रसाद सिटौलादेखि खुमबहादुर खड्काहरुका क्रियाकलापलाई समेत दोष दिने गरेका छन् । त्यतिमात्र होइन कांग्रेसको आन्तरिक संगठनमा देखिएको लुँछाचुँडीदेखि जंगलमा रहेको माओवादीलाई राजनीतिक मूलधारमा ल्याउने कांग्रेस नेतृत्वको विगतको अभ्यासले पनि आज कांग्रेसको यो अवस्था भएको भन्नेहरुको कमी छैन । कांग्रेस पछि पर्नुमा यी थुप्रै कारणहरु छन् ।

अब यी सबै कमजोरीहरुलाई सच्याएर पार्टी नेतृत्व हाँक्न कसले सक्ला ? यो गम्भीर विषय बन्दै गएको छ । कांग्रेसभित्र एउटा समस्या जब्बर रुपमा झाँगिदै आएको छ, त्यो के हो भने गगन थापाजस्ता युवा पुस्तालाई नपत्याउने, आफु बुढो भएर नेतृत्व ओगटिरहने तर पार्टी हाँक्न नसक्ने ! कांग्रेसमा यो सवालमा समेत अब गम्भीर बहस हुन जरुरी रहेको, अन्यथा नयाँ पार्टी निर्माण गर्न असम्भव रहेको कांग्रेसलाई नजिकैबाट बुझ्ने राजनीतिक विश्लेषकहरुको दाबी छ ।

कांग्रेस नेतृत्वको विरासत कसले जोगाउला ?
चुनावी हार र जितको विषयलाई लिएर कांग्रेस नेतृत्वमा खडेरी परेको निश्कर्ष निकाल्ने हो भने देशका सबैतिर केन्द्रीय नेताहरुले हारिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले भने अत्याधिक मतको अन्तरमा चुनाव जितेका छन् ।

त्यस्तै, डा.शशांक कोइराला लगायतका केही नेताहरुले राम्रो मत ल्याएर चुनाव जितेका छन् । यद्यपि, अधिकांश केन्द्रीय नेताहरुले हार ब्यहोरेपछि सो पार्टीमा नेतृत्व संकटको विषयमा बहस सुरु भएको छ । सभापति देउवाको टिमसँग जहिल्यै अन्तरविरोध चर्किरहने बरिष्ठ नेता रामचन्द्र पौडेल पनि यो पटक थन्किएका छन् । त्यसैले अब कांग्रेसभित्र कुशल नेतृत्वको विषयमा बहस सुरु भएको छ ।

नेपाली कांग्रेसमा अब केही विकल्पहरु बाँकी रहेका छन् । जस्तैः कोइराला परिवारको राजनीतिक विरासत थाम्दै आएका शशांक कोइरालाले चुनाव जितेका छन् । त्यस्तै, गणेशमानसिंहको राजनीतिक विरासतलाई घसारेर अघि बढाउन खोज्ने प्रकाशमानसिंहले पनि चुनाव जितेका छन् । यद्यपि, प्रकाशमानसिंहलाई कांग्रेसभित्रै अल्छे र गणेशमानसिंहको नाममा मात्र राजनीति गर्ने नेताको आरोप लाग्ने गरेको छ ।

उता, मुलुककै लोकप्रिय युवा नेताको रुपमा छवि स्थापित गरेका गगन थापादेखि प्राज्ञिक व्यक्तित्वको छबिसँगै राष्ट्रिय राजनीतिमा निकै उचाई प्राप्त गरिसकेका डा.मिनेन्द्र रिजालसम्मले चुनाव जितेका छन् । यस्ता केही नेताहरुले चुनाव जित्नु र समानूपातिकतर्फ राम्रो भोट झरेको संकेत मिल्नुले कांग्रेस नेतृत्वले आतिनुपर्ने अवस्था छैन ।

यसले कांग्रेसको साख अझै गिर्न दिएको छैन । चुनावमा हार बेहोरेका रामचन्द्र पौडेल,डा.शेखर कोइराला, कृष्ण सिटौलादेखि डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत लगायतका अधिकांश नेताहरुले मुलुकका लागि दिएको योगदानलाई स्मरण गर्दै नयाँ ढंगले रुपान्तरित भएर पार्टीको नेतृत्व पुनःस्र्थापित गराउनतर्फ लाग्नुपर्नेमा कांग्रेसकै नेता–कार्यकर्ताहरु बताउन थालेका छन् । कांग्रेसले अबको नेतृत्व यिनै नेताहरुको वरिपरिबाट विकास गर्न सक्नुपर्ने विश्लेषकहरु बताउँछन् । यसले मात्र अबको कांग्रेसको उज्जल भविष्य निर्धारण गर्न सक्छ ।