राजनीति

चुनावी परिणामलगत्तै यसकारण वाम गठबन्धन संकटमा पर्ने संकेत देखियो !

काठमाण्डौ । भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जसरी नेपाली कांग्रेसलाई धक्का लाग्यो, त्यसरीनै वाम गठबन्धनका केही शीर्ष नेताहरुको हारले उक्त गठबन्धनलाई पनि ठूलै धक्का लागेको छ । देशैभर वाम गठबन्धनले जित हाँसिल गरिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नै गृहजिल्ला बर्दियाबाट लज्जास्पद हार बेहोर्नुपरेको छ । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार सञ्जय गौतमले हराएका हुन् ।

उपाध्यक्ष गौतम तिनै नेता हुन्, जसले एमाले र माओवादीलाई चुनावी तालमेल गराउनेदेखि पार्टी एकतासम्मकै यात्रासमम्म डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शसस्त्र युद्धको नेतृत्व गर्दै जंगलमा रहेको माओवादीलाई राजनीतिक मुलधारमा ल्याउनेदेखि एउटै कम्युनिष्ट पार्टीको सपनामा डोर्याउने एमाले नेताहरुको पहिलो पंक्तिमा गौतम पर्छन् । तर उनै गौतमले बाम तालमेलकै बेला लज्जास्पद हार बेहोरेका छन् ।

यो हारका विषयमा उपाध्यक्ष गौतमले नै प्रश्न उठाउन थालेका छन् । उनले आफुमाथि गम्भीर षडयन्त्र भएको र हारको संघारमा पुर्याइएको आरोप लगाएका छन् । वाम गठबन्धन बनाउन महत्वपूर्ण योगदान दिने नेताले नै निर्वाचनमा हार ब्यहोर्नुलाई आश्चर्यका रुपमा लिन थालिएको छ । प्रजातान्त्रिक अभ्यासका क्रममा जित–हार हुनु स्वभाविकनै भएपनि सिंगो मुलुकमा बामहरुले जितिरहेका बेला सोही अभियानका सुत्रधारले धुलो चाट्नु स्वभाविक कुरा होइन ।

आफ्नो यो अवस्था हुनुमा गौतमले आन्तारिक पार्टीभित्रको अन्तरघात र माओवादी केन्द्रको असहयोगको कारण भएको टिप्पणी गर्न थालेको उनीनिकट श्रोतले बताएको छ । उपाध्यक्ष गौतमको हारले बाम गठबन्धनको भोलीको एकता यात्रालाई कत्तिको प्रभाव पार्ला ? त्यो भोलिका दिनमा देखिने भएपनि गौतमले चुनाव हारेलगत्तै गर्न थालेको टिप्पणीले बाम गठबन्धनको भविष्य अन्यौलपूर्ण हुनसक्ने धेरैको अनुमान छ । यद्यपि, गौतमले आफुले हारे पनि वाम गठबन्धनले जितेकोमा आफु खुसी रहेको प्रतिक्रिया दिन भने छाडेका छैनन् ।

त्यस्तै, एमाले र माओवादी केन्द्रलाई वाम एकता हुँदै पार्टी एकताकै तहमा पुर्याउने अर्का नेता हुन् माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा खट्पट् भई पानी बाराबारको अवस्था हुँदासमेत श्रेष्ठ र गौतमले ती दुई पार्टीलाई एक बनाउने सवालमा गृहकार्य गरिरहेका हुन्थे । उनै श्रेष्ठले अहिले गोरखा–२ बाट चुनावमा हार बेहोरेका छन् ।

श्रेष्ठलाई नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हराएका हुन् । बाम गठबन्धन निर्माणको सुरुकै चरणमा गोरखाको २ नम्बर क्षेत्र नछाड्ने नारायणकाजीकै अडानका कारण भट्टराईले उक्त अभियानलाई त्यागेर नेपाली कांग्रेससँग तालमेल गर्न पुगे । परिणामतः श्रेष्ठले हार बेहोरेका छन् । बाबुराम र नारायणकाजी बीचको टक्करको फरक श्रृंखला रहेको छ । तर यसबेला बाम गठबन्धनको यात्रालाई पार्टी एकताकै तहसम्म पुर्याउन सबैभन्दा पहिलो भूमिका खेल्ने दुवै पार्टीका उपाध्यक्ष गौतम र श्रेष्ठले हार्नुलाई चाहि निकै अनौठो र आश्चर्यका रुपमा हेरिएको छ ।

गौतम र श्रेष्ठको हारले के वाम गठबन्धनको यात्रा प्रभावित होला ?
शसस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन जसरी तत्कालीन कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइरालाले भूमिका खेले त्योभन्दा बढी भूमिका एमाले उपाध्यक्ष वामदेव गौतमले खेलेका थिए । शसस्त्र युद्ध चलिरहेकै बेला रोल्पादेखि दिल्लीसम्म माओवादी नेतृत्वलाई भेटेर शान्तिप्रक्रियामा फर्काउने र त्यसको लगत्तै एमाले र माओवादीबीचको एकता बहस चलाउन सुरु गर्ने नेतानै वामदेव गौतम थिए, जसलाई नारायणकाजीले सहयात्रा गरिरहेका थिए ।

एमाले र माओवादी नेतृत्वलाई पटक–पटक भेटाउने पार्टी एकता सम्मकै पहल गराएका खबर ६० को दशकपछि थुप्रैपटक आएका थिए तर राजनीतिक, सैद्धान्तिक र प्राविधिक समस्याका कारण ती सबै प्रयास असफल भएका कुराहरु बाहिर आएका थिए । तर कातिकमा भएको दुई पार्टीबीचको चुनावी तालमेल र पार्टी एकतासम्मकै यात्रा तय गराउन गौतम र श्रेष्ठ सफल भएका थिए । यद्यपि, यो यात्रामा एमाले–माओवादीका अन्य नेताहरुको पनि हात रहेको थियो, त्यसको नेतृत्व भने गौतम र श्रेष्ठले नै गरेका थिए ।

मुलुकको राजनीतिक समीकरणलाई उथलपुथल पार्ने यो अभियानका यी दुई सुत्रधार, जसले यही अभियानभित्र लज्जास्पद हार बेहोरेका छन् । यो हारलगत्तै तत्कालै गौतमले गरेको टिप्पणी वाम–एकता यात्राका लागि सहज विषय नभएको एमाले–माओवादीलाई नजिकबाटै नियालिरहेका राजनीतिक विश्लेषकहरु टिप्पणी गर्न थालेका छन् ।

वाम गठबन्धनकै भविष्यका विषयमा पनि अर्को प्रसंग जोड्न उचित हुन्छ, त्यो हो एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणी । ओलीले एक सञ्चारमाध्यामलाई भर्खरै दिएको अन्तरवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको भन्ने टिप्पणीले पनि एमाले–माओवादीबीचको एकता यात्रा बीचमै टुट्ने आँकलन गर्न सकिन्छ ।

यी अन्तरविरोधको संयोजनक गर्ने काममा चुनावी हारले निराश बनेका गौतम र श्रेष्ठ सफल हुने सम्भावना अहिले निकै कम देखिन्छ । त्यसर्थ, गौतम र श्रेष्ठको हारमा वाम गठबन्धनको भविष्य जोडिएको छ,जसले उक्त यात्रालाई अनिश्चितता तर्फ धकेलिदिएको देखिन्छ ।