राजनीति

यी हुन् नयाँ राष्ट्रपतिका सम्भावित उम्मेद्वार, एमाले र माओवादीभित्र बहस सुरु !

काठमाण्डौ । नयाँ संविधान कार्यन्वयनको चरणमा मुलुकमा दुई महत्वपूर्ण निर्वाचन सम्पन्न भएका छन् । बैशाख र असारमा स्थानीय निकायको निर्वाचन सकिएलगतै मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि सकिएको छ ।

पछिल्लोपटक सकिएको निर्वाचनलगत्तै अब सत्ता र सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । मुलुकमा अब लगत्तै नयाँ प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति लगायतको नेतृत्वको चयन हुँदैछ । यसै सन्दर्भमा हामीले योपटक नयाँ राष्ट्रपतिमा कुन–कुन नेताको सम्भावना रहेको छ भनेर सम्भावित आँकलन गरेका छौ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएको पार्टी हो नेकपा एमाले । वाम गठबन्धनको माध्यामबाट सबैभन्दा धेरै मत ल्याएर मुलुककै सबैभन्दा ठूलो पार्टी बनेको नाताले पनि अबको राष्ट्रपतिको दाबेदार सोही पार्टीका नेताहरु हुने निश्चित छ । श्रोतका अनुसार एमाले र माओवादी दुवै पार्टीबाट योपटक राष्ट्रपतिका लागि केही नेताहरुको नाम प्रस्ताव हुँदैछन् । कुन–कुन नेताहरुको नाम प्रस्ताव हुने भन्ने सवालमा अहिले दुवै पार्टीभित्र व्यापक छलफल र बहस भैरहेको बताइएको छ ।

यी नेताहरुको नाम प्रस्ताव हुँदैछ राष्ट्रपतिमा !
नेकपा एमाले र माओवादी केन्द्रले केही नेताहरुलाई राष्ट्रपतिको नाममा सिफारिस गर्ने तयारी गरेपनि तीमध्ये केही नेताहरुले त्यो प्रस्तावलाई अस्वीकार गर्ने सम्भावना रहेको पनि बताइन्छ । श्रोतका अनुसार नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेद्वार अघि सार्ने सम्भावना देखिएको छ ।

नेकपा एमालेको शीर्ष नेतृत्वमध्ये एक नेपालले त्यो पदमा जाने वा नजाने भन्ने विषयमा निक्र्योल गरिनसकेको श्रोतको दाबी छ । नेपाल निकट श्रोतका अनुसार उनले अहिलेनै राष्ट्रपति बन्ने सोच नबनाएको पनि बताएको छ । यदि नेपाल मञ्जुर भएमा एमालेले उनलाई राष्ट्रपतिमा पठाउने सम्भावना रहेको छ ।

त्यस्तै,एमालेकै अर्का नेता झलनाथ खनाललाई पनि सो पार्टीले राष्ट्रपतिको उम्मेद्वारका रुपमा अघि बढाउँदैछ । पार्टीका पूर्व अध्यक्ष र पूर्वप्रधानमन्त्री समेत भैसकेका खनाल भने राष्ट्रपतिको उम्मेद्वारमा पार्टीले प्रस्ताव गरे मञ्जुर हुन तयार रहेको बताइन्छ । त्यस्तै, भर्खरै चुनाव हारेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पनि एमालेले राष्ट्रपतिका लागि सिफारिस गर्न सक्ने श्रोतको दाबी छ । राष्ट्रपति हुनका लागि संसद सदस्य अनिवार्य छैन ।

उता,माओवादी केन्द्रभित्र पनि केही नेताहरुको नाम राष्ट्रपतिका लागि सिफारिस हुने भएका छन् । माओवादी नेताहरु रामबहादुर थापा बादल, अमिक शेरचन र भर्खरै चुनाव हारेका नारायणकाजी श्रेष्ठसमेत त्यो सिफारिमसमा पर्ने सम्भावना नजिकै रहेको पेरिसडाँडा निकट श्रोतले बताएको छ । तत्कालीन माओवादी शसस्त्र युद्धको रणनीतिकारका रुपमा परिचित थापा सो पार्टीभित्र बरिष्ठ नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै अमिक शेरचनका नाम पनि राष्ट्रपतिका लागि सिफारिस हुने सम्भावना नजिकै रहेको छ । शेरचन लामो समय कम्युनिष्ट आन्दोलनमा व्यतित गरेका नेता हुन् । त्यस्तै लामो समय कम्युनिष्ट आन्दोलनमा होमिएर माओवादीलाई शान्तिपूर्ण धारमा ल्याउन भूमिका खेलेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि नाम राष्ट्रपतिका लागि सिफारि हुने सम्भावना बलियो छ ।

श्रेष्ठले केही वर्षअघिमात्र माओवादीसँग पार्टी एकता गरेका थिए । एकता प्रक्रियामा आउँदा पार्टीभित्र मिलाइएको भागबण्डाका आधारमा श्रेष्ठ उपाध्यक्ष भएका हुन् । एकता केन्द्र हुँदै माओवादी केन्द्रमा एकीकृत भएको सो पार्टीका सर्वोच्च नेता नै थिए नारायणकाजी श्रेष्ठ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई पहिलेका सहकर्मी डा.बाबुराम भट्टराईले हराएका छन् । राष्ट्रपतिको उम्मेद्वारमा उनको नाम समेत सिफारि हुन सक्ने श्रोतको दाबी रहेको छ ।

त्यस्तै, एमाले र माओवादीभित्रबाट केही महिला नेतृ र जनजाति नेताहरुलाई समेत राष्ट्रपतिमा सिफारिस गर्न सकिने श्रोतको दाबी छ । पछिल्लो चुनावको मतपरिणाम आएलगत्तै नयाँ सरकार निर्माण गर्नेकि संसद (राष्ट्रियसभा) गठन गर्ने भन्ने विषयमा अहिले केही मतभिन्नताहरु देखिएका छन् । सम्भवत त्यो विषयमा कुरा मिल्नासाथ मुलुकमा नयाँ प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायतका विषयमा बाटो खुल्ने देखिन्छ ।