पु.समाचार

प्रतिनिधिसभाका १३४ र प्रदेशसभाका २८५ क्षेत्रको मतगणना सम्पन्न, यस्तो छ पूर्ण बिबरण

काठमाडौँ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८२ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये १०० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६७ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये २१८ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १३ जना महिला निर्वाचित भएका छन् ।

आयोगका अनुसार आज बिहान ९ बजेसम्मको प्राप्त विवरणअनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य ३७ जिल्लामा सम्पन्न भइसकेको छ । त्यस्तै, रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डडेल्धुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ । बाँकी २५ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी छ ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, गोरखा, बागलुङ, पाल्पा, रोल्पा, दाङ, रुुकम पश्चिम, कालीकोट, जाजरकोट, हुम्ला, दैलेख, बैतडी र दार्चुला छन् ।

पछिल्लो विवरणअनुसार, १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुमा नेकपा (एमाले) ले तीन लाख २८ हजार ६२८, नेपाली काँग्रेसले तीन लाख २६ हजार ६७४, नेकपा (माओवादी केन्द्र) ले एक लाख ६० हजार ११६, राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ८४०, विवेकशील साझा पार्टीले १६ हजार २२३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ६०, संघीय समाजवादी फोरम नेपालले १३ हजार ८७९ र नयाँ शक्ति पार्टीले १० हजार ६३४ मत प्राप्त गरेका छन् ।