आर्थिक

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने महासंघको अपेक्षा

काठमाडौं । निर्वाचन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो र दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, प्रमुख राजनीतिक दलहरू तथा नेपाली जनतालाई बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।

मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहने घोषणपत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको सन्दर्भमा अब बन्ने सरकार र सबै प्रमुख राजनैतिक दलहरू मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिवद्ध रहन महासंघले आग्रह गरेको छ ।

विगतमा सम्पन्न स्थानीय तहको निर्वाचन र हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पश्चात संविधानले परिकल्पना गरेको तीन तहको सरकारको व्यवस्थापन अब पूर्णतः कार्यान्वयनमा आउने छ भन्ने विश्वास रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षा अनुरूप मुलुक आर्थिक विकासको मार्ग तिर लाग्ने कुरामा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले महसुस गरेको छ ।

अस्थिर र अल्प समयमै सरकार परिवर्तन भई मुलुकको दिगो विकासमा नकारात्मक असर परिरहेको विगतको अनुभवको परिदृश्यमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको जारी मतगणनाको परिणामले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन हुने संकेतहरु देखापरेका छन् जुन समग्र नेपाली जनता, उद्यमी व्यवसायी तथा सिङ्गो निजी क्षेत्रका लागि खुशीको विषय भएको महासंघको ठहर छ ।

विगतमा लाखौं युवा वैदेशिक रोजगारीमा जान वाध्य भएको परिप्रेक्ष्यमा नेपालको आर्थिक समृद्धिको आधार र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले अब बन्ने स्थिर सरकारले यस्ता उद्योगको विकास र यस्ता उद्योगबाट हुने उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरी स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्न आवश्यक रहेको महासंघले जोड दिएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि कार्य गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ आग्रह गर्दै यस कार्यमा सबै स्तरमा सहयोग पु¥याउन प्रतिवद्धता व्यक्त गर्दछ ।