राजनीति

चुनाव हारे पनि विवेकशीलका रविन्द्र मिश्र किन यति धेरै उत्साहित भए ? यस्तो छ कारण

काठमाण्डौ । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले आम मतदातालाई धन्यवाद दिएका छन् । काठमाण्डौ क्षेत्र नम्बर १ बाट चुनाव लडेका नेता मिश्रले कांग्रेस नेता प्रकाशमानसिंह श्रेष्ठसँग झिनो मतले पराजित भएलगत्तै आफुलाई मतदान गर्ने र सहयोग गर्ने आम मतदाता र शुभचिन्तकलाई धन्यवाद दिएका हुन् ।
शनिबार बिहान मतपरिणाम सार्वजनिक भएलगत्तै एक विज्ञप्ति जारी गर्दै नेता मिश्रले आफ्नो भन्दा ८ सय १९ मतको अन्तरले जित हासिल गरेका नेता सिंहलाई उनले टेलिफोनबाट बधाई दिएको बताएका छन् ।

नेता मिश्रले विवेकशील साझा पार्टी निर्माण प्रक्रिया सुरु भएको ४ महिनामै विना संगठन उम्मेद्वारी दिँदा समेत जनताले पत्याएको भन्दै आफुलाई निकै उत्साह जागेको बताएका छन् । नेता मिश्रले विज्ञप्तिमा भनेका छन्, विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

मिश्रले आफ्नो पार्टीले प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेपनि समानूपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउने विश्वास व्यक्त गरेका छन् । नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमै विवेकशील साझा पार्टी लोकप्रिय बन्नुलाई गौरबको विषय भएको दाबी गर्दै उनले अर्को चुनावपछि यो देशको नेतृत्व गर्न आफुहरु तयार रहेको र त्यो चूनौती आफुहरुको काँधमा आएको उनले दाबी गरेका छन् ।

यस्तो मिश्रले जारी गरेको विज्ञप्तिः

विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।

विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी