राजनीति

बाम गठबन्धन स्पष्ट बहुमतको बाटोमा, कांग्रेस नेतृत्वले अब कस्तो समीक्षा गर्ला ?

काठमाण्डौ । मंसिर १० र २१ गते सम्पन्न भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । केही स्थानको मतपरिणाम समेत आइसकेको छ भने केही स्थानमा अग्रता तलमाथि हुने क्रम जारी रहेको छ । शुरुवाती अग्रताको संकेत र विजयको संकेतलाई हेर्दा वाम गठबन्धनले बहुमत ल्याउने संकेतहरु देखापर्न थालेका छन् किनभने मुलुककै सबैभन्दा पूरानो र यसअघि १ नम्बर पार्टीको रुपमा रहेको नेपाली कांग्रेस मतपरिणाम र अग्रतामा निकै पछि परेको देखिन थालेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ भने १८ स्थानमा अग्रता रहेको छ, त्यस्तै माओवादी केन्द्रले १ स्थानमा जित हाँसिल गरेको छ भने १३ स्थानमा अग्रता लिएको छ, त्यस्तै नेपाली कांग्रेसले भने ३ स्थानमा अग्रता लिएको छ भने विजय भएका स्थानहरु छैनन् ।

यो प्रारम्भिक रिपोर्टले के संकेत दिएको छ भने एमाले–माओवादी गठबन्धनले निकै मतको अन्तरमा देशैभर विजयी हासिल गर्दैछन् । प्रारम्भिक मतपरिणामको संकेत आएसँगै बाम गठबन्धनका नेता–कार्यकर्ताहरु सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यामहरुमा समेत छाउन थालेका छन् भने नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु स्तव्ध देखिन थालेका छन् ।

कांग्रेस नेताहरुमा निकै मौनता छाउन थालेको छ । कांग्रेसका प्रभावशाली युवा नेताहरुसमेत अहिले सामाजिक सञ्जालमा देखिन छाडेका छन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेसलाई पछिल्लो निर्वाचनले निकै ठूलो झड्का दिने संकेत दिएको छ ।

कांग्रेसको राजनीतिक इतिहासमा वाम गठबन्धनसँगको प्रतिस्पर्धामा यो धक्कानै पहिलो हो, जसले कांग्रेसलाई निकै पछि पार्ने संकेत दिएको छ । यद्यपि, काठमाण्डौ उपत्यकामा नेपाली कांग्रेसले जित हासिल गर्न सक्ने सम्भावना पनि देखिन्छ । काठमाण्डौमा शुक्रबार बिहानबाट मतगणना सुरु हुँदैछ । काठमाण्डौजस्ता अन्य केही क्षेत्रहरुमा पनि कांग्रेसले जित हासिल त गर्न सक्छ तर अपेक्षित मतपरिणाम आउने संकेत निकै कम देखिन थालेको छ, यसको संकेत प्रारम्भिक मतपरिणामले देखाइसकेको छ ।

यो स्थितिमा नेपाली कांग्रेसभित्र भोलीका दिनमा कस्तो समिक्षा होला ? त्यो भोलीका दिनमा निर्धारण हुने कुरा हो । तर कांग्रेसलाई यो स्थितिमा पुर्याउन पार्टी नेतृत्वको कत्तिको भूमिका छ भन्ने विषयमा बहस सुरु हुन थालेका छन् ।

कांग्रेसलाई धक्का लाग्नुमा नेतृत्व कति दोषी ?
नेपाली कांग्रेसलाई यो स्थितिमा पुर्याउनमा पार्टी नेतृत्व पनि दोषी रहेका बहसहरु सुरु हुन थालेका छन् । पार्टी नेतृत्वले उचित स्थानमा उचित किसिमका उम्मेद्वारहरुको चयन गर्न नसक्नु, पार्टीको आन्तारिक बेमेल, बाम गठबन्धनको प्रभावमाथि हस्तक्षेप गर्न नसक्नुले पनि कांग्रेसको यो अवस्था आएको धेरैको अनुमान छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले चरम महोत्कांक्षा राखेर पार्टी सञ्चालन गर्दा वामहरुसँगको लडाईमा कांग्रेस पराजित हुनुपरेको केही कांग्रेस नेताहरुकै भनाई छ । यसले पार्टीको नेतृत्व गरिरहेका सभापति देउवामाथिनै प्रश्न चिन्ह खडा भएको देखिन्छ । यो विषयमा नेपाली कांग्रेसले भोलीका दिनमा कसरी समीक्षा गर्छ, त्यसैमा उसको राजनीतिक भविष्य निर्धारण हुने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

वाम गठबन्धनका अघि नेपाली कांग्रेस किन जुध्न सकेन भन्ने विषयमा पनि बहसहरु हुन थालेका छन् । मुलुककै राजनीतिकमा इतिहासमा सदाबहार पार्टीको रुपमा उदाउँदै आएको कांग्रेसलाई वाम गठबन्धनको जित पक्कै पनि शुभ संकेत होइन र वाम गठबन्धनका लागि पनि कांग्रेसको हार शुभ संकेत होइन किनभने मुलुकमा सम्पन्न शान्ति सम्झौतादेखि नयाँ संविधान निर्माणसम्मको यात्रालाई हेर्दा कम्युनिष्ट र कांग्रेसबीच मेलमिलापकै नीति अनुसार मुलुक अघि बढिरहेको देखिन्छ तर यो निर्वाचनको मतपरिणाम आइसकेपछि कम्युनिष्टहरु कांग्रेसमाथि हाबी हुने देखिदैछ, यसले मुलुकलाई चरम द्धन्द्धमा लैजान सक्छ । त्यसैले एमाले–माओवादी र नेपाली कांग्रेसको भोलीका दिनमा तय हुने रणनीतिले मात्र मुलुकको राजनीतिक भविष्य तय हुने विश्लेषकहरु बताउँछन् ।

कांग्रेस सकिदा के कम्युनिष्टहरुलाई सहज होला ?
नेपाली कांग्रेस नेपालको लामो इतिहास रचना गरेर आएको पार्टी हो । जसलाई नेपाली जनताले लामो समयसम्म सदाबहादर पार्टीको रुपमा स्थापित गरिरहे । प्रजातान्त्रिक धारको मूलप्रवाहको रुपमा रहेको कांग्रेस सकिएर कम्युनिष्टहरुको उदय भयो भने मुलुक राजनीतिक परिदृष्य कस्तो हुन्छ भन्ने विषयमा समेत बहस भैरहेको छ ।

भारत,चीन,अमेरिका लागयतका मित्र शक्ति राष्ट्रहरुले कसरी हेर्छन् त्यो पनि समीक्षाकै पाटो रहेको छ । यद्यपि, यो निर्वाचनको मतपरिणाम अनुसार बामहरुले बहुमत ल्याउने निश्चित भने भएको छ । यो कांग्रेसका लागि अनपेक्षितक मतपरिणाम हो । जसले नेपालको राजनीतिक रंगमञ्चमा निकै ठूलो प्रभाव पार्ने निश्चित जस्तै देखिएको छ ।