राजनीति

मतदान गरेलगत्तै अधिकांश नेताहरुले दिए यस्ता प्रतिक्रिया, देखियो शुभ संकेत !

काठमाण्डौ । मुलुकका ४५ जिल्लामा सुरु भएको दोश्रो चरणको निर्वाचनमा मतदान सुरु भएको छ । सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले समेत मतदान प्रक्रियामा भाग लिइरहेका छन् । मतदान प्रक्रियामा भाग लिइरहेका दलका अधिकांश नेताहरुले भने मतदान गरेलगत्तै मुलुक अब समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अब मुलुक समृद्धिको यात्रामा अघि बढेको बताए । उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकोले मतदान गरेर राष्ट्रिय कर्तव्य पुरा गर्न समेत आम मतदाताहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेसकै अर्का प्रभावशाली नेता डा.शेखर कोइरालाले अब नेपालमा कुनै पनि किसिमको अधिनायकवाद सम्भव नभएको प्रतिक्रिया दिए । मतदान गरेलगत्तै नेता कोइरालाले निर्वाचनले लोकतन्त्रलाई मजबुद बनाउने दाबी गरे ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो ऐतिहासिक निर्वाचन भएकोले यसलाई उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिए । उनले निर्वाचन लगत्तै वामपन्थीहरुको सरकार बन्ने दाबी गर्दै अब मुलुक समृद्धिको यात्रामा अघि बढेको दाबी गरे ।

त्यस्तै एमालेका प्रभावशाली नेता सुवास नेम्वाङले निर्वाचन लगत्तै मुलुकले फड्को मारेको दाबी गरे । उनले भने, यो नेपालीका लागि खुसीको कुरा हो, संविधान जारी गर्ने सभाको अध्यक्षेका हैसियतबाट झन् धेरै खुसी छु, की यो क्षण आउँदा वर्णन गर्नै सक्दिन ।

नेता नेम्वाङ पूर्वसभामुख समेत हुन् । उनकै कार्यकालमा नयाँ संविधान जारी भएको थियो । त्यस्तै एमाले नेता शंकर पोख्रेलले पनि निर्वाचनबाट शान्ति र स्थिरता आउने विश्वास व्यक्त गरेका छन् ।

दाङबाट मतदान प्रक्रियामा सहभागी भएलगत्तै नेता पोख्रेलले यो निर्वाचन संविधान कार्यान्वयनको खुट्किलो भएकोले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह समेत गरे । त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेलगत्तै प्रतिक्रिया दिएका छन् ।

उनले काठमाण्डौ क्षेत्र नम्बर १ मा आफ्नो आफुसँग प्रतिस्पर्धा गर्न सक्ने कुनै पनि उम्मेद्वार नभएको भन्दै आफुनै शक्तिशाली उम्मेद्वार भएको दाबी गरे । उनले भने, ‘पहिलो संविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’

कांग्रेस नेता सिंह बाहेक अधिकांश नेताहरुले निर्वाचन लगत्तै मुलुक समृद्धि, स्थायित्व र शान्तिको यात्रामा अघि बढेको प्रतिक्रिया दिएका छन् । उनीहरुको यो प्रतिक्रियाले सुःखद संकेत दिएको छ ।