राजनीति

जनताको अधिकार रक्षाका लागि काँग्रेसलाई जिताउनुको बिकल्प छैन : प्रधानमन्त्री देउवा

सर्लाही । प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गरेका छन्।

काँग्रेस सर्लाहीद्वारा बिहीबार सदरमुकाम मलंगवामा आयोजित आमसभामा उनले काँग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले २००७ सालदेखिको मुलुकमा भएको हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएका बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न र मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गरे ।

सम्पूर्ण मधेशी जनताको अधिकार सुनिश्चितताका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन्, उनले भने–“नेपाल सबै जातजाती र भाषाभाषीको साझा मुलुक हो, त्यसैले सबै नेपालीको हकअधिकार, स्वाभिमान र सम्मानको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्छ ।”

प्रधानमन्त्री देउवाले पहाडी–मधेशी वा अरु कुनै बहानामा मुलुक विखण्डन गर्न खोज्नेलाई हैन, सबै जातजाति र भाषाभाषीको नेपाल बनाउने काँग्रेसलाई रोज्न आग्रह गरे ।

एमाले सधैं मधेश र मधेशी जनताको विरोधी पार्टी रहेकाले काँग्रेसका उम्मेदवारलाई विजय गराउन पनि उनले सबैलाई आग्रह गरे ।