पु.समाचार

देउवा र पौडेल सहभागी कार्यक्रममा किन गएनन् कृष्ण सिटौला ? यस्तो छ भित्री कारण

झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए। कम्यूनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकबाद लाद्ने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन्।

सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए। किन त ? जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरुको अनुपस्थितिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा चलिरहेको छ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन्। सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङेन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन्। यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहदैनन्। बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रमक देखिन्छन्।

‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) आफ्नै पार्टीका शीर्षस्थ नेतृत्व उपस्थित रहेको गृहजिल्लाकै कार्यक्रममा नगएका हुन्,’ जिल्लास्थित कांग्रेसका एक नेता भन्छन। जुन कार्यक्रममा पार्टी नेतृत्वले एमाले अध्यक्ष केपी ओली र बाम गठबन्धनप्रति चर्को बिरोधमा अभिव्यक्ति दिएको थियो।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, बाम गठबन्धनबिरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ। यसका पछि केही तर्क पनि छन्।

०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङेनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो। सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो।

सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला। जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफूजसरी पनि चुनाव लडिछाड्ने बताए। त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ। जसलाई ‘म्याच फिक्सिङ’ संग जोडेर हेरिएको छ।

यसका पछि सिटौलाका भने भिन्नै तर्क छन्। आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेसका कार्यकर्ताको दबाव र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको उनी तर्क गर्छन। ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु’ उनले भने,‘म्याच फिक्सिङका कुरा बेकारका कुरा हुन्, एमाले र माओवादी नेतृत्वसंग यो बीचमा मेरो छलफल भएको छैन। नेताहरुले के गर्छन् थाहा छैन तर मतदाताहरुले झापामा प्रश्न उठाएका छन।’

राप्रपा नेता लिङेनपनि ‘म्याचफिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन्। ‘मलाई त विश्वास छैन, तैपनि त्यसको जबाफ दिने म होइन, केपी ओलीसंगनै सोध्नुहोला’ उनले भने। भित्रभित्र कांग्रेसलाई सघाउने हो कि भन्ने संशय चलीरहेकै बेला लिङेनकै आग्रहमा ओलीले दोस्रोपटक विहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्वोधन गर्ने भएका छन्। ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो।

त्यसो त सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको आफ्नो स्वार्थ पनि जोडिएको छ। ओली र सिटौलाले प्रतिस्पर्धा गरेकै निर्वाचन क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ। संभवतस् राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन्।

सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससंगै बन्थ्यो। राप्रपासंगको गठबन्धनमा काग्रेसकै चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसंगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस बृत्तमा चलाईएको थियो, जसबाट ओली झस्केका थिए। कांग्रेस नेता शर्माले पनि यी चर्चालाई इन्कार गरेनन।

‘मलाई यस क्षेत्रबाट बाहिरियाउन पर्छ भन्ने मनसाय सम्भवत एमालेमा थियो’ शर्माले भने। ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराईदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए। सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसंग जोडिन पुग्यो। जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो।

एमालेका स्थानीय नेता एवं ३ नम्वर निर्वाचन क्षेत्रका चुनाव परिचालन समितिका संयोजक समेत रहेका पुष्पराज पोखरेल अघिल्लो भन्दा पछिल्लो तर्कसंग सहमत छन्। यद्यपि बाम गठबन्धनले अन्य ठाउंमा कांग्रेससंग भएको तिक्कता भने झापाको हकमा नभएको बताउँछन।

‘तीन नम्बर क्षेत्रमा कांग्रेस र बाम गठबन्धनका नेताहरु व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएका छैनन्। एमालेले भोट दिइहाल्छ कि भन्ने आसमा कांग्रेस पनि आक्रामक छैन, एमालेले पनि प्रतिनिधिसभामा उम्मेदवार नभएकाले सफ्ट कर्नर राख्नु स्वभाविक हो’ उनले भने।

उनको भनाइमा ओली र सिटौलाबीचको ‘म्याच फिक्सिङ’ भन्दा पनि एमालेकै बाध्यताका कारण राप्रपासंग गठजोड भएको हो। ‘हो अध्यक्ष कमरेडकै क्षेत्रमा (निर्वाचन क्षेत्र ५) कांग्रेस र राप्रपा मिल्दा हामीलाई (एमाले) लाई चुनौति थियो, स्थानीय तहकै चुनावले त्यस्तो अंकगणित बनेको थियो’ उनले भने।

ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तह मध्ये गौरादह नगरपालिका कांग्रेस, गौरीगन्ज गाउँपालिकामा राप्रपाले जितेको छ। दमक नगरपालिका र कमल गाउँपालिकामा एमालेले जितेको छ। कमलमा कांग्रेससंग मत बराबर भएको थियो। यद्यपि गोलाप्रथाबाट एमालेले जितेको हो। दमकमा पनि दोस्रो प्रतिस्पर्धामा राप्रपा नै थियो।

‘जिल्लामा राप्रपा तेस्रो राजनीतिक शक्ति भएकाले ऊसंग कांग्रेस मिल्दा अध्यक्ष ओली स्वयंलाई अप्ठ्यारो थियो’ पोखरेलले भने,‘३ नम्वर क्षेत्रमा राप्रपाका लिङेनलाई छाडा अन्य सवै क्षेत्रमा राप्रपाले हामीलाई सघाउने भयो, त्यसै कारण बाम र राप्रपाबीचको गठबन्धन बनेको हो।’

यद्यपि काग्रेस उम्मेदवारलाई सघाउने हल्ला भने बाहिर चलिरहेको उनले स्वीकारे। यतिसम्मकी विर्तामोडबाट करिव ४० कि।मी दक्षिण कचनकवल गाउँपालिकामा बुधबार दिउसो हामी पुग्दा त्यहाका एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत यस्तो द्धिविधा देखिएको थियो।

कचनकवल गाउँपालिकाका माओवादी कार्यकर्ता बालकृष्ण दंगाल मतदानको केही दिनअघि सम्म नेतृत्वबाट अर्के ग्रिन सिग्नल आउन सक्ने बताउँछन। ‘के गर्ने भन्नेबार एक दुई दिनमा ग्रिन सिग्नल आउँछ भन्ने चर्चा पार्टीभित्र चलेको छ’ दंगाललले भने,‘बजारमा आउने होइन।

पार्टीको च्यानलबाट संकेतको रुपमा आउने बुझिएको छ।’ राजवंशी टोलका एमाले कार्यकर्ता मोहन राजवंशी पनि यस्तै द्विविधामा परेको बताए। ‘हामी अप्ठ्यारामा परेका छौ’ उनले भने,‘निर्वाचनको दिनसम्म हाईकमाण्डले जे भन्छ, त्यहि गर्ने हो। अहिलेसम्म निर्देशन केही आइसकेको छैन।’