पु.समाचार

यसकारण खसेको रहेछ त्रिसुलीमा बस, यसो भन्छिन् यी घाइते

काठमाण्डौ । म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ। बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो। करिब ३०–३२ यात्रु थियौँ। नौबिसेमा खाजा खायौँ। चालकले राम्ररी नै बस कुदाइरहेका थिए। बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो। विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो। ट्रकले आफ्नो लेन समाउन भ्याएन।

घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो। तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो। मैले देखेअनुसार ट्रक र बस रोकिए। ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो। पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ। दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो। म बेहोस भएछु। घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु.१ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ। १९ घाइते भएका छन्। बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना।६ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो।

सात यात्रुको घटनास्थलमै र एकको उपचारको क्रममा काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साँझसम्म मृतक पाँचजनाको मात्रै सनाखत भएको छ।

अर्खाखाँचीका ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ। पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

पाँच घाइतेको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा, दुईको ग्रान्डी अस्पतालमा, दुईको कुरिनघाटस्थित मनोकामना पोलिक्लिनिकमा र बाँकीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सहचालक सुनील क्षेत्रीका अनुसार बसमा ३२ यात्रु थिए।

काठमाडौंबाट सय किलोमिटरनजिकै मुख्य राजमार्गमा दुर्घटना भए पनि उद्धारमा सरकार उदासीन देखियो। घटनाको १२ घन्टासम्म शव ४० किलोमिटर पर भरतपुरसम्म पुर्‍याइएको थिएन। त्यसैले आफन्तहरू को जिउँदो छ र को बेपत्ता छ भन्ने विषयमा अन्योलमा थिए।

सरकारको प्रतीक्षा गर्दा घाइतेको पनि ज्यान जाने अवस्था आएकाले परिवारले आफै हेलिकोप्टर मगाउनुपरेको थियो। घाइते ध्रुव दमासेको परिवारले आफ्नै खर्चमा हेलिकोप्टर मगाएर काठमाडौं लगेको हो। सोही हेलिकोप्टरमा घाइते निशा थापालाई पनि काठमाडौं पुर्‍याइएको छ।

चितवनको मौवाखोला (धादिङ सिमाना)देखि देवघाटसम्म त्रिशूली नदी क्षेत्र पर्छ। आर्थिक वर्ष ०७३(७४ मा यस क्षेत्रमा भएका २७ दुर्घटनामा ४१ जनाले ज्यान गुमाए। ८९ घाइते भए। १८ जना त अझै पनि त्रिशूलीमा बेपत्ता छन्।

९ असोज ०७३ मा पूर्वगृहमन्त्री माधव घिमिरे र उनको परिवार सवार जिप त्रिशूलीमा खस्यो। दुर्घटनामा चारजनाको निधन भयो। घिमिरेको शव हालसम्म पनि फेला परेको छैन। त्यस्तै, १० भदौ ०७३ मा नारायणगढ–मुग्लिङ सडकखण्डको कालिखोलानजिक रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग.१ख ३७०९ नम्बरको बस नदीमा खस्दा २५ यात्रुले ज्यान गुमाए। १० जना अझै बेपत्ता छन्।

९ असार ०७४ को राति नारायणगढ–मुग्लिङ सडकखण्डको कालिखोलामा आएको पहिरोले इप्रका मुग्लिङको ना.१झ. १३९० नम्बरको प्रहरीको भ्यान बगायो। जसमा असइसहित तीनजनाको निधन भयो। गाडी र एक प्रहरी त्रिशूलीमै बेपत्ता भए। गत १५ असोजमा भरतपुर २९ घुमाउनेमा ना.७ख १४५७ नम्बरको भैंसी बोकेको ट्रक अनियन्त्रित भई नदीमा खस्दा एकजनाको निधन भयो। प्रहरी रिपोर्टअनुसार यस आर्थिक वर्षमा त्रिशूलीमा गाडी खसेर मर्नेको संख्या नौ पुगेको छ।