पु.समाचार

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सघाउन सबैपक्षसँग सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।

सञ्चार मन्त्री बस्नेतलेस्थानीय तहको निर्वाचनपछि शुरु भएको संघ र प्रदेशको पहिलो चरणको चुनाव केही सामान्य घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भए जस्तै दोस्रो चरण पनि सहज, निर्भय र शान्तिपूर्ण बनाउन सहयोग गर्न राजनीतिक दल, सञ्चारकर्मी र सम्बद्ध सबैपक्षसँग अनुरोध गरे ।

नेपाली काँग्रेसका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री बस्नेतले मुलुकले अहिले कठिन चरण पार गर्न खोजिरहेको उल्लेख गर्दै यसपछि लोकतन्त्र स्थिर हुने विश्वास व्यक्त गरे।

मंसिर १० मा पहिलो चरणको निर्वाचन सम्पन्न भएको सिन्धुपाल्चोक जिल्लाका काँग्रेस नेता बस्नेतले यो निर्वाचनले लोकतन्त्रलाई स्थिरता दिने वा नदिने भन्ने विषयमा निर्णय दिने भएकाले यसलाई सामान्य रुपमा लिन नहुने स्पष्ट गरे ।

उनले संविधानको कार्यान्वयन चुनावको महत्वपूर्ण उद्देश्य रहेको र संविधान बनाउन दलहरुबीच एकता कायम भएजस्तै कार्यान्वयनमा पनि त्यस्तो एकता हुनुपर्ने विचार प्रकट गरे ।

नेपाल सरकारका प्रवक्ता मन्त्री बस्नेतले नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको र एकदलीय सोचलाई बारम्बार नकारेको इतिहासको स्मरण गराए र भने – “यदि कसैले एकदलीय शासनको अपेक्षा राखेको भए त्यो नेपाली जनतालाई अस्वीकार्य भएको बुझ्न आवश्यक छ ।”

सञ्चार मन्त्रालयको आफ्नै कार्यकक्षमा सरकारी सञ्चारमाध्यमका प्रमुखहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले राज्य सञ्चालित सरकारी सञ्चार माध्यमले पत्रकारिता क्षेत्रमा अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्ने निर्देशन पनि दिए ।

उनले भने – “सरकारले गरेका राम्रा काम र नीतिगत निर्णयहरु जनतासमक्ष पु¥याउनु मुलुकको समग्र पत्रकारिताको भूमिका हो । यस काममा सरकारी सञ्चार माध्यमले थप सक्रिय भई दायित्व निर्वाह गर्नुपर्छ ।”

संविधानले मध्यमार्ग अपनाएको र लोकतन्त्रलाई प्रत्याभूत गरेको विषय उल्लेख गर्दै उनले सरकारी माध्यमले लोकतन्त्रको संरक्षण गर्न, सबै राजनीतिक दलबीच सौहार्दपूर्ण सहकार्य बढाउन र विकास एवं आर्थिक समृद्धि प्राप्त गर्न सबैलाई प्रेरित गर्नु नै अहिलेको पत्रकारिताको अभिभावकीय भूमिको हो भने । दलहरुबीच अनावश्यक दूरी बढाउनु राष्ट्रको हितमा नहुने मन्त्री बस्नेतको भनाइ थियो ।

सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले निष्पक्ष र तटस्थ शैलीमा समाचार र विचार प्रवाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले यी माध्यममा दलीय पक्ष लिएर समाचार सामग्री प्रवाह भएको पाइनु ती माध्यमले आफ्नो कर्तव्य नबुझ्नु हो भने।
सन्तुलन, तटस्थता र विश्वास सरकारी सञ्चार माध्यमको पहिचान रहनुपर्ने पनि उनले थप स्पष्ट गरे।