कुराकानी

केपी ओलीले सपना नदेखे कसले देख्ने त ? –रामेश्वर फुँयाल, एमाले नेता (अन्तरवार्ता )

–रामेश्वर फुँयाल, एमाले नेता

निकै लामो समय कम्युनिष्ट आन्दोलनमा होमिदै आएका एमाले नेता रामेश्वर फुँयाल अहिले काठमाण्डौ क्षेत्र नम्बर ३ अन्तर्गत (ख)बाट प्रदेशसभा उम्मेद्वार रहेका छन् । आगामी मंसिर १० र २१ गते हुने चुनाव, वाम गठबन्धन र समसामयिक विषयमा केन्द्रीत रहँदै सुर्यखबर डट कमले नेता फुयाँलसँग कुराकानी गरेको छ । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंशः

तपाई २०७० सालको चुनावमा एमालेको तर्फबाट संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो, अहिले पनि उम्मेद्वार हुनुहुन्छ, तपाईले आगामी मंसिर १० र २१ गतेको चुनावलाई कसरी हेरिरहनुभएको छ ?

–नेपालमा महत्वपूर्ण तीनवटा क्रान्तिहरु सम्पन्न भए । २००७, २०४६ र २०६३ सालको क्रान्ति यसका उदाहरणहरु हुन् । यी तीन क्रान्तिमध्ये पहिलो र दोश्रो क्रान्ति तुहिए । तेश्रो क्रान्तिको उपलव्धीको हामीले रक्षा गर्न सक्नुपर्छ । त्यसका लागि यो संक्रमणकाल चाँडै सकिनुपर्छ र योसँगै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसमेत सक्नुपर्ने हुन्छ । यति भएपछि तेश्रो क्रान्तिको एक तहको काम सकिन्छ । हामी समाजवादउन्मुख अर्थव्यवस्था निर्माणको तयारीमा छौ ।

राजनीतिक अर्थव्यवस्थालाई पनि समाजवाद उन्मुखनै बनाउँदै अगाडि लिएर जान सकिन्छ । हामी पूर्ण लोकतन्त्रमा विश्वास गर्दै जनजीविकाका सवालहरुलाई सम्बोधन गर्न चाहान्छौ, यसका लागि निर्वाचन प्रणालीमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको छ । यद्यपि, त्यो खालको निर्वाचन प्रणाली रोजेनौ भने धनवान वा बलवानले मात्रै चुनाव लड्ने स्थिति आउन सक्छ । उनीहरुले मात्र चुनाव लड्न पाउँदा लोकतन्त्र होइन, धनवान वा बलवानतन्त्र चल्ने खतरा रहन्छ । त्यसैले निर्वाचन प्रणालीमा पनि आमूल परिवर्तनको आवश्यकता छ भन्ने हो ।

तपाईले मलाई राज्यवस्था समितिमा रहेर पनि यो काम किन नगरेको भनेर प्रश्न गर्नुभएको हो भने अहिले यो अवस्थाबाट निर्वाचनमा नगए निर्वाचननै नहुने खतरा देखियो । अहिले हामी अत्यन्तै महत्वपूर्ण क्षणमा पनि छौ, समृद्ध नेपाल निर्माण गर्ने हो भने आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको बाटोबाट जान जरुरी रहेको छ । यसका लागि यो निर्वाचन कोशेढुंगा हुनेछ । र वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउँछ भन्नेमा हामी पनि विश्वस्त रहेका छौ ।

अहिले भएको वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउनेमा विश्वास गर्ने आधार के छ त ?
– मेरो विश्वासमा दुई तिहाई मत प्राप्त हुन्छ । यसको आधार अहिले देखिदै गएको छ, त्यो तपाई हामीले देखिनै रहेका छौ ।

लोकतान्त्रिक गठबन्धनले त वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याएर चूँ बोल्न नै नपाउने व्यवस्था ल्याउने भो भन्ने आरोप लगाइरहेको छ नि ? यो टिप्पणीबारे के भन्नुहुन्छ ?

–ठिक हो । हाम्रो भोलिको आदर्श र लक्ष्य समाजवाद हुँदै साम्यवाद नै हो । तर आज हामीले साम्यवादमा पुग्ने भनिरहेका छैनौ । दोश्रो कुरा कार्ल माक्र्सले देखेको सपना स्वतन्त्र र आनन्ददायी मानव र समाजको परिकल्पना हो । त्यसो त स्वतन्त्र र आनन्ददायी मानवको सपना भनेको बुद्धको सपना पनि त हो नि । यसलाई यसरी हेर्नुपर्छ जस्तो लाग्छ ।

त्यस्तै, अहिले नेपालमा शारीरिक र मानसिक श्रमबीचको सम्मानको विभेद देखिन्छ । त्यसलाई अन्त गरिनुपर्छ । त्यसो हुनासाथ उत्पादन बृद्धि हुन्छ । मानव जाति बीचमा सम्मानको बृद्धि हुन्छ । राष्ट्रिय एकता र राष्ट्रियताको जगेर्ना हुन्छ र समुन्नत समाज निर्माण हुन्छ । त्यो दिशातर्फ जानका लागि अब डेढ महिनापछि निर्माण हुने नेपाल कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व गर्छ । जसमा हाम्रा श्रद्धेय नेता मदन भण्डारीको नेतृत्वमा निर्माण भएको बहुदलीय जनवादले त्यसको नेतृत्व गर्छ ।

अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि एउटा कम्युनिष्ट पार्टी बन्छ र त्यसको मूल सिद्धान्त भनेको जनताको बहुदलीय जनवाद हुन्छ । जबज भनेको राजनेता पुष्पलाल र मदन भण्डारीले परिकल्पना गरेको राजनीतिक प्रणाली हो । यो सिद्धान्तको रुपमा विकास भएको छ ।

राजनेता प्रचण्डले गरेको आँट र साहासलाई पनि मान्नुपर्छ । उहाँले दुई पार्टी एक बनाउने चेतनाको बिगुल फुक्नको लागि त ठूलो फड्को मार्नुभो नि । यसका लागि उहाँलाई धन्यवाद भन्न चाहान्छु । अब हामी यस्तो कोर्समा जाँदैछौ । मुलुकलाई समृद्ध बनाउन सामन्तवादी अवशेष र दलाल पुँजीपति वर्गको पनि हामी उन्मुलन गर्न चाहान्छौ ।

राष्ट्रिय पूँजीको विकास गर्न चाहान्छौ । नेपालमै भएको जलश्रोत,जमिन,पर्यटन, राष्ट्रिय सम्पदा र जनशक्तिलाई उपयोग र सही व्यवस्थापन गरेर समृद्ध नेपाल निर्माण गर्ने हाम्रो लक्ष्य हो ।

दलाल पूँजीपति वर्गको उन्मुलन गरेलगत्तै राष्ट्रिय अर्थतन्त्र फष्टाउनेछ । नेपालले हात थाप्ने होइन, दिन सक्ने हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्योचाहि समाजवादउन्मुख अर्थतन्त्र निर्माण गरेर मात्रै हुन्छ ।

जस्तै एमाले अध्यक्ष केपी ओलीले त नेपालले केही समयमै चन्द्रमा रकेट उडाउने लगायतका सपना बाँड्नुभएको थियो, त्यसलाई तपाई कसरी पुष्टि गर्नुहुन्छ ?

–उद्धेश्य के लिनु, उडि छुनु चन्द्र, महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा सपनानै दिनुभयो । त्यसको केही वर्षपछि युरी गागरिन चन्द्रमामा पुग्नुभो । राजनेता केपी शर्मा ओलीले यो सपना देख्नुभयो, राजनेता मदन भण्डारीले दिउँसै सपना देख्नुभयो । म पनि विकासका लागि दिउँसै सपना देख्न चाहान्छु ।

हिजो २०३५ सालपछि राजतन्त्र र पञ्चायत फयाँक्नेदेखि जुन–जुन सपनाहरु हामीले देख्यौं, ती सपना पुरा भएका छन् । राजतन्त्र फ्याक्ने दिउँसै सपना देखेका थियौं । त्यो सपना पुरा भएको छ । अब नवनिर्माणको दिउँसै सपना देखेका छौ, त्यो पूरा हुन्छ । तपाईले अहिले राजधानीका सडकबीचमा हरियाली देख्नुहुन्छ, ती रुख रोप्न पनि हामीले दिउँसै सपना देखेका थियौं । मैले तत्कालीन मुख्य सचिव लिलामणि पौडेललाई आग्रह गरेपछि अहिले काठमाण्डौको काँडाघारीमा जताततै सडक पुगेको छ ।

२०४४ सालताका म पनि सरकारी अधिकृत थिए । त्यसबेला मैले पौडेललाई राजधानीको सडक र बृक्षरोपणको प्रस्ताव गरेको थिए । राजधानीमा रोप्ने रुखहरु पाँच फिट अग्ला मात्रै रोपौ, त्यसले निकै सोभा ल्याउँछ भन्ने प्रस्ताव गरेको थिए, अहिले त्यही भएको छ । मुलुक व्यक्तिको सपना मात्रै पनि होइन, प्रणालीले फेर्नुपर्छ । प्रणाली बसाल्न पनि राजनेताहरुले सपना देख्नुपर्छ । राजनेता केपी ओलीले नेपालको पानी जहाज समुद्रमा कुदाउने र नेपालको झण्डा राख्ने भनेको हो । पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनाउने र सडक फराकिला बनाउने सपना त नेताले नदेखे कसले देख्छ त ?

नेपालमा पञ्चायतकाल ढालेर बहुदलीय प्रजातन्त्रको सुरुवात भयो, त्यसपछि कांग्रेस र एमाले मिले, २०६३ को जनआन्दोलनपछि कांग्रेस, एमाले र माओवादी मिलेर पनि केही गर्न सकेनन् भन्ने जनताको आक्रोस छ नि, यसलाई कसरी लिनुभएको छ ?

–मैले त वागमती र नेपालको राजनीति एकैपटक सफा गरौं भन्ने नारा चुनावमो दिँदै आएको छु, मेरो सामाजिक सञ्जालमा गएर हेर्नुभो भने पनि यो नारा अघि सारेर गरेका राजनीतिक अभियानका तस्वीर देख्नुहुन्छ । ‘भनसुन नलाग्ने प्रशासन र मनसुन नलाग्ने कृषि प्रणाली’को विकास भएको नेपाल चाहिन्छ भन्ने मेरो मान्यता हो । यी सबै कुराको ग्यारेन्टी अबको पूर्ण लोकतन्त्र र समाजवादउन्मुख नेपालले गर्छ भन्ने कुरामा म आफुचाहि विश्वस्त रहेको छु ।

म निरंकुश पञ्चायत व्यवस्थाको विरोधमा गणतन्त्रको पक्षमा लड्दै आएको व्यक्ति हुँ । म त्यसबेला नेपाल सरकारको प्रशासनिक अधिकृत नै थिए, ५५ दिनसम्म हामीले त्यसबेला आन्दोलन चलाएका थियौं । त्यसबेला कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले निस्कासित गरेको अधिकृत हुँ म ।

उहाँले बर्खास्त गरिदिनाले मैले अहिले नेपाली जनताको सेवा गर्न पाएको छु । यद्यपि, २०४६ सालको क्रान्तिमा नेकपा मालेको एकजना चुनिएकै नेतामध्येबाट मैले भूमिका खेलिरहेको थिए । त्यसैले अबको निश्कर्ष भनेको राज्य प्रणालीबाट समृद्धिको यात्रा तय हुन्छ भन्ने हो । राज्यकोषबाट एक रुपैयामात्रै व्ययभार हुन्छ भने सो व्ययभार हुने पदको नियुक्ति लोकसेवाकृत भएर हुनुपर्छ भन्ने हो ।

जनताले तपाईलाई भोट किन हाल्ने ? ठयाक्कै बुझ्ने भाषामा जनतालाई भनिदिनुहोस् न ?
–म नेपाललाई समृद्ध र उज्यालो नेपाल बनाउन चाहान्छु । त्यसका लागि म आफै कुटो कुदालो गर्छु र कलम पनि चलाउँछु । म विद्यायक हुँदा मैले सफल विधायकको रुपमा काम गर्न सके वा सकिन जनताले मूल्याँकन गर्ने कुरा हो, तर मैले संविधान बनाउने कसम खाएको थिए, त्यो काम गर्न सके ।

संविधान बनाउने कुरामा पनि मैले पहिलो हस्ताक्षर गर्ने मौका पाएँ । मैले केही मुद्धा उठाएको थिए । ती मुद्धामा भने म हारे ।  मैले पाँच प्रदेश बनाउन आफ्नो मत जाहेर गरिरहे तर सात प्रदेश कायम भयो । नेपालमा आर्थिक वर्ष परिवर्तन गर्नुपर्छ । साउनदेखि असारसम्मको होइन, वैशाखदेखि चैत्रसम्मको आर्थिक वर्ष कायम गरौं भन्ने मेरो प्रस्ताव थियो । मैले त्यसमा हारे ।

लिङ्ग पहिचान गर्ने र स्त्री लिङ्गको हत्या गर्ने प्रचलन नेपाल मात्र होइन दक्षिण एसियामै रहेको छ, यसलाई फेरौं भन्ने मेरो माग थियो, यो पनि पुरा भएन । तर न्युनतम मत सीमा पाँच प्रतिशत तोक्दै राष्ट्रिय मान्यता प्राप्त दल हुन यो नियम हुनुपर्छ भनेको थिए, समानूपातिकतर्फ तीन प्रतिशत र एकजना प्रत्यक्ष निर्वाचित सामेल गर्ने भन्ने कुरा हुँदा मलाई त्यो मुद्धा सामेल गर्न नसकेको महसुस र गौरब दुबै हुने गरेको छ ।

अर्को कुरा संविधान बनाउन सकियो यो ठूलो उपलब्धीको कुरा हो । त्यसमा बजेट आउने दिन जेठको १५ गते हुने कुरा तोक्न सकियो । मैले अर्को कुरा पनि प्रस्ताव गरेको छु, फागुन १५ भित्र स्थानीय तहको बजेट ल्याउनुपर्ने, चैत १५ भित्र प्रदेशको बजेट ल्याउनुपर्ने ।

यी सबै कुरा संविधानमा लेख्नुपर्ने कुरा हुन् । मैले यी कुरामा बहस चलाए । त्यतिमात्र होइन, मैले आउँदो स्थानीय चुनाव २०७९ साल फागुनभित्र हुनुपर्छ भन्ने कुरामा समेत बहस उठाएको छु । यसका लागि कानुनमै के प्रवन्ध गर्न सकियो भने पाँचौ वर्ष पूरा हुनुभन्दा दुई महिनाअघि नै स्थानीय चुनाव भैसक्नुपर्नेछ भन्ने कुरा लेखिएको छ ।

हामीले वडातहमा दलित समुदाय र त्यो समुदायका महिलालाई मन्त्री बनाउने, अर्को कुरा एकतिहाई महिलाको समावेशीको कुरालाई समेत स्थापित गरेका छौ, यो सामान्य कुरा होइन ।  त्यस्तै स्थानीय तहमा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनुपर्ने लगायतका काम हामीले गरेका छौ ।

त्यस्तै,भ्रष्टाचारको आरोमा दण्डित भएका व्यक्तिहरु राजनीतिको शीर्ष स्थानमा रहने हो भने मुहान धमिलो भएपछि नदी कस्तो होला ? त्यसैले हामीले राजनीतिक पार्टीका नेता र उम्मेद्वारी दिने नेताहरुलाई यो सवालमा हामीले आचारसंहिता बनाएका छौ ।

भ्रष्ट व्यक्तिहरु, जसलाई कानूनले भ्रष्टाचारको आरोप लगाएको छ, त्यसलाई रोक्नका लागि हामीले विद्येयक ल्याएका छौ । त्यो विद्येयक पास गर्ने बेलामा त्यसलाई रोक्न सिंहदरबारबाट पनि दबाब आएको थियो । हामीले पास गरेरै छाड्यौं । त्यसैले अब भ्रष्टाचारको आरोप लागेका उम्मेद्वारहरुको उम्मेद्वारी खारेज हुने प्रक्रिया सुरु भएको छ । भ्रष्टाचार निर्मूल गर्ने यो भन्दा उपयुक्त प्रणालीको सुरुवात कहिले होला र ?

मलाई जनताले नै किन रोज्ने भन्ने जुन प्रश्न गर्नुभएको छ, यसमा अहिले मलाई पार्टीले प्रदेशसभाका लागि उम्मेद्वारी दिएर पठाएको छ । अहिले प्रदेशसभा भनेको नेपालको नयाँ प्रणाली हो । म नेकपा एमालेको उपत्यकाको एक जिम्मेवार नेता हुँ र त्यो जिम्मेवारी पाएको हुँ भन्ने मलाई लाग्छ । यो चूनौतीपूर्ण र नयाँ काम पनि हो । त्यसैले निकै जोसका साथ जिम्मेवारीपूर्वक काम गर्ने र जनतालाई नै अन्तिम न्यायाधीश र देवता मान्ने एउटा सामान्य पात्र हो रामेश्वर फुयाँल । त्यसकारण पनि एमालेले मलाई काठमाण्डौ क्षेत्र नम्बर ३ अन्तगर्त २ बाट प्रदेशसभा उम्मेद्वार बनाएको हो । मेरो एउटा मान्यता भनेको हंसमुख ढंगले जनताको सेवा गर्ने भन्ने हो ।

सुरुमा त यहाँको प्रतिनिधिसभातर्फ नाम सिफारिस भएको थियो नि होइन र ?
–प्रतिनिधिसभामा बहस र छलफल हुँदा मेरो नाम सिफारिस भएको थियो । त्यो सिफारिसपछि ८० प्रतिशत कार्यकर्ताहरुले रामेश्वर फुँयालनै हुनुपर्छ भन्ने माग पनि राखेका थिए । तर मैलेनै पछि कृष्ण दाईको नाम सिफारिस गरेको हुँ । र पछि प्रदेशसभामा रामेश्वरलाई पठाउन जरुरी छ भन्ने आवश्यकता महसुस भयो र मेरो नाममा निर्णय भयो ।

राजनीतिमा शुद्ध खेलमात्र हुन्छ भन्ने होइन, तर मेरो विचारमा राजनीतिक रुपमा पार्टीभित्र र जनताले समेत विश्वास गरेको नेतृत्व हुन आवश्यक छ । त्यसैले मैले पार्टीले दिएको जिम्मेवारी बहन गरेको हुँ ।

फेरि वाम गठबन्धनकै प्रसंगमा जाऔं, एमाले अध्यक्ष ओलीले केही समयअघि हामीसँगको कुराकानीमै भन्नुभएको थियो कि माओवादीसँग तालमेल गर्नु भनेको पागलसँग तालमेल गर्नु सरह हो, उहाँको यो टिप्पणीबारेचाहि के भन्नुहुन्छ नि ?

–हामी त्यसबेला निकै कठिन अवस्था थियौं र राजनीति पनि त्यही अवस्थामा थियो । उहाँले कुनै सन्दर्भमा त्यो भन्नुभयो होला । अहिले परिस्थितिले वामहरु बीच एकता हुनुपर्छ भन्ने अवस्थाको सृजना भयो । त्यसैले परिस्थितिको मागअनुसार एकता भएको हो ।
वाम तालमेल असोजमा फुलेको सयपत्री जस्तै हो । यो अप्ठ्यारा ठाउँमा पनि फुल्छ र सजिलो जमिनमा पनि फुल्छ । यो परिस्थितिजन्य र धरातलीय आवश्यकतालाई हामीले पूरा गर्नुपर्छ ।

तपाईको राजनीतिक पृष्ठभूमिबारे केही बताइदिनुस् न ?
–म २०३५ सालमा एसएलसी दिएर बसेपछि विद्यार्थी आन्दोलनमा होमिए । त्यसबेला विद्यार्थी आन्दोलन चलिरहेको थियो । म त्यसपछि तुरुन्तै नेकपा मालेको सम्पर्कमा पुगे । २०३६ सालमा भएको जनमत संग्रहको प्रचार समितिमा रहे । त्यसपछि कर्मचारी संगठनमा त्यसको मूल समन्वय समितिको सदस्य भएर काम गरे । पार्टीको जिल्ला कमिटीमा रहेको थिए । यी भूमिगत हुँदै भएका काम हुन् ।

२०४६ सालको जनआन्दोलनमा पनि मैले जिल्ला कमिटीको जिम्मेवारीमा रहेर काम गरे । २०४६ सालपछि पार्टीको काठमाण्डौ जिल्ला कमिटीको उपसचिव, २०५४ सालदेखि जिल्ला कमिटी सचिव, २०६५ सालमा पार्टीको केन्द्रीय सदस्य भए ।

२०६४ सालमा संविधानसभा निर्वाचनमा चुनाव हारेपनि २०७० सालमा निर्वाचित भए । त्यसअघि २०४९ सालमा म काठमाण्डौ जिल्ला अन्तर्गतको आलापोट गाविसको अध्यक्षमा निर्वाचित भए र २०५४ मा पनि सोही पदमा निर्वाचित भएको थिए । र त्यही बेला मैले काठमाण्डौ जिल्ला विकास समितिको उपसभापतिको जिम्मेवारी पाए ।

राजनीतिभन्दा बाहेक मेरो अर्को पनि क्षेत्र थियो कुनैबेला । त्यो हो प्रशासनिक क्षेत्र । मैले बैदारदेखि सेक्सन अफिसरसम्मको लोकसेवा आयोगको प्रतिस्पर्धामा पहिलो र दोश्रो हुँदै नाम निकालेको थिए । त्यसैले अहिले मेरो उद्धेश्य भनेको जनताको आजीवन सेवा गरेर राष्ट्रिय ऋण तिर्नु हो । अहिले भने म जनताको सेवा गर्न पूर्ण रुपमै राजनीतिमा क्रियाशील छु ।

अर्को प्रसंग, तपाईको विचारमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा वामपन्थी गठबन्धनको कति सिट आउला जस्तो लाग्छ ?

– मेरो विचारमा उपत्यकाका तीन जिल्लामा ३० सिटमध्ये २२ सिटभन्दा बढी आउँछ जस्तो लाग्छ । काठमाण्डौ जिल्लामा चाहि एमालेले कतै हार्दैन ।

काठमाण्डौ जिल्लामा माओवादीलाई प्रतिनिधिसभातर्फ टिकट दिँदा कांग्रेसलाई सजिलो भयो भन्ने कुरा पनि छ नि ?

–त्यस्तो खालको तर्क पनि आएको छ । तर एकताको कारणले सबै ठाउँमा वामपन्थीले जित्ने भए भन्ने तर्क पनि आएको छ । त्यसर्थ, जनतानै ठूलो भगवान र न्यायाधीश भएकोले उसैको फैसला निर्णायक हुन्छ ।

तपाईले पछिल्लो समयमा उठाएका थुप्रै विषयवस्तुहरु हेर्दा एउटा ऊर्जाशील कम्युनिष्ट नेता मात्र होइन सर्वमान्य नेताजस्तो देखिनुभएको छ, आफ्नो निर्वाचन क्षेत्र र समग्र मुलुकका जनतालाई के भन्न चाहानुहुन्छ ?

– मेरो विचारमा अहिले नेपालका दुईवटा मात्र कार्यक्रम प्रदेशबाट चलाउनुपर्छ भन्ने मान्यता छ । एउटा अन्तर्राष्ट्रिय बुद्ध परिवहन र अर्को अन्तर्राष्ट्रिय पशुपति परिवहन कार्यक्रम सञ्चालन गर्नुपर्छ । बुद्ध जन्मेको देश हो नेपाल । यो देशलाई संसारकै आकर्षणको केन्द्र बनाउनुपर्छ । यसका लागि लुम्बिनी, बौद्ध गया, स्वयम्भू, बौद्धनाथ, मणिसूर, नवोबुद्ध जस्ता स्थानहरु जोडेर अन्तर्राष्ट्रिय बुद्ध परिवहन बनाउनुपर्छ ।

त्यस्तै पशुपति, काँशी, उत्तरगया, गोकर्णेश्वर, शिवपुरी, सुन्दरीमाई, कागेश्वरी, बज्रयोगिनी, राम जानकरी मन्दिर, मुक्तिनाथ लगायतका तीर्थस्थलहरुलाई जोडेर अन्तर्राष्ट्रिय पशुपति परिवहनको अभियान सुरु गर्न सके पचासौं लाख मानिसहरुले रोजगारी पाउन सक्छन् । यो कुरा तपाईको मिडियामार्फत भन्न चाहान्छु ।

अहिले आउने पर्यटकको संख्या दश लाख नाघेकै छैन । आएर के हेर्ने ? हामीसँग पर्यटकहरुलाई तान्न सक्ने मनोरम प्राकृतिक ठाउँहरु रहेका छन् । तर हामीले व्यवस्थापन गर्न सकेका छैनौ । हाम्रो आर्थिक क्रान्ति पनि यसैमा केन्द्रीत हुनुपर्छ ।

चिनियाँ, भारतीय, श्रीलंकन,लाओस र मंगोलियनहरुलाई तिम्रो विदा मनाउने पर्यटकीय स्थल नेपाल हो भनेर चिनाउनुपर्यो । यति गर्न सकियो भने नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो योगदान दिन्छ र मुलुक समृद्धिको यात्रामा अघि बढ्छ ।

यस्ता थुप्रै सम्भावना र आवश्यकताहरु रहेका छन्, जसलाई राजनीतिक स्थायित्वले प्रभाव पार्ने गर्छन् । पूर्ण लोकतान्त्रिक, सुरक्षित र शान्त नेपाल आजको आवश्यकता हो र श्रमको सम्मान गर्ने नेपाल आजको आवश्यकता हो । तसर्थ, यही बाटोबाट समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने लाग्छ । धन्यवाद ।