अन्तर्राष्ट्रिय

रोहिंगा शरणार्थी फिर्ता गर्ने सम्बन्धमा महत्वपूर्ण समझ्दारी

एजेन्सी ।  म्यानमारमा हालै भएको सैन्य कारबाहीबाट बच्न भागेर छिमेकी देश बंगलादेश पुगेका हजारौँ रोहिंज्या मुसलमानहरुको घरफिर्तीका लागि बांग्लादेशले म्यानमारसँग एक समझदारी गरेको छ। म्यानमारको राजधानी न्यपि ट मा हस्ताक्षर गरिएको उक्त समझदारीबारे विस्तृत विवरणहरु सार्वजनिक गरिएका छैनन्।

बंगलादेशले त्यसलाई “पहिलो कदम” भनी उल्लेख गरेको छ। म्यानमारले भने रोहिंज्याहरुलाई “जतिसक्दो छिटो ” घरफिर्ती गराउनका लागि तयार भएको बताएको छ।

रोहिंज्याहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सहायता निकायहरुले उनीहरुलाई जबरजस्ती घरफिर्ती गराउनेबारे चिन्ता प्रकट गर्दै आएका थिए।

राज्यविहीन भएका रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन्। बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले रोहिंज्याविरुद्ध म्यानमारको सेनाको गरेको कारबाहीलाई जातीय सफाया सरह भएको बताएका थिए।

गत हप्ता म्यानमारको सेनाले रोहिंज्या संकटलाई लिएर उसमाथि लागेको आरोपमा आफू निर्दोष रहेको बताएको थियो।