राजनीति

बुबाको किरिया बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

बैतडी । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो ।

विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुबाको निधनमा किरिया बस्नुभएका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले जानकारी दिनुभयो तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।