राजनीति

पुत्रशोक परेकै बेलामा पुष्पकमलमाथि फेरि किन यति ठूलो प्रहार ?

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसबेला पुत्रशोकमा परेका छन् । जताततै उनी र उनको परिवारलाई समवेदना दिनेहरुको घुँइचो देखिन्छ ।

आइतबार बिहान ३६ वर्षीय पुत्र प्रकाश दाहालको असामयिक निधनलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई चोट पर्नु स्वभाविक हो । तर यसबेला सामाजिक सञ्जालहरुमा उनको राजनीतिक जीवनयात्रामा सुरु भएको हिंसात्मक आन्दोलन र त्यसमा मृत्यु भएका १७ हजार मानिसहरुको परिवारको समवेदनलाई समेत जोडिदैछ ।

कुनै पनि मानिसलाई सहन नसकिने चोट परेका बेलामा त्यो खालको आलोचना अपाच्य भएपनि केही बुद्धिजीवी र सर्वसाधारणले समेत उनको नेतृत्वमा भएका आन्दोलनमा ज्यान गुमाउने र ती परिवारको बारेमा सम्झिरहेका छन् । प्रकाश दाहालको राजनीतिक र पारिवारिक जीवनयात्रामा केही कमी कमजोरीहरु पनि देखिएका थिए ।

पुष्पकमलको नेतृत्वमा भएको १० वर्षे हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका परिवारहरु पनि अहिलेसम्म पीडामै रहेका छन् । तर उनको परिवारमा बज्रपात आइलाग्दा ती पीडाका घाउहरुलाई सम्झनेहरुको पनि कमी रहेनछ भन्ने यसबेला सामाजिक सञ्जालमा पोखिएका पीडाहरुले पुष्टि गरेको छ ।

आइतबार पुष्पकमलपुत्र प्रकाशको निधन भएलगत्तै नेपाली कांग्रेस निकट बुद्धिजीवी रमेश ढुंगेलले पीडामा रहेका पुष्पकमल र उनकी पत्नी सीतालाई समवेदना त प्रकट गरे तर उनले धेरै नेपालीका छोराछोरीको वीभत्स रुपले ज्यान लिएर रमाउने र तातो न भूत्लो देशको कायापलटको हुँकार गर्नेहरुलाई पनि पुत्रशोक पर्दोरहेछ भनेर व्यंग्य र कडा प्रहार गरेका छन् । उनले दाहाललाई देवाधिदेव शंकर भगवानले त्यो खालको अनुभूति दिएको बताउँदै अब पुष्पकमलले भैंसी पुजा गरेर स्वर्ग पठाउने चाँजो मिलाउने भन्दै थप कडा व्यंग्य गरेका छन् ।

ढुंगेलले आफ्नो फेसबुक अकाउन्टमा दाहालपरिवारप्रति गरेको यो व्यंग्य र कडा आलोचनाका बारेमा सयौं अन्य सर्वसाधारणले भने कडा आलोचना गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । पुत्र शोकमा परेका दाहालमाथि यसरी किन आलोचना भैरहेको छ ? भन्ने प्रश्नमा सामाजिक सञ्जालमार्फत नै केही सर्वसाधारणले वीर अस्पतालमा छट्टिरहेकी नन्दमाया अधिकारी र शिक्षण अस्पतालमा अहिलेसम्म बेवारिसे भएर बसेको उनका पतिको शवको तस्वीरहरु पोष्ट गरिरहेका छन् ।

कसैले दशवर्षे हिंसात्मक द्धन्द्धमा मारिएका व्यक्तिहरुको तस्वीरहरु पोष्ट गरिरहेका छन् । यद्यपि, ढुंगेलले गरेको यो टिप्पणीबारे सर्वसाधारणबाट कडा आलोचना आउनुले मानवीय समवेदनामा नेपालीहरु एकोहोरो हुन्छन् भन्ने समेत देखिएको छ । तर उनको स्टाटस्लाई समर्थन गर्नेहरुको पनि कमी छैन ।

कसले के भने ?
ढुंगेलले गरेको टिप्पणीमा राजेन्द्रमान बज्राचार्यले उनको टिप्पणी सुहाउँदो नभएको भन्दै टिप्पणी गरेका छन् भने केहीले ढुंगेलको समर्थन पनि गरेका छन् । त्यस्तै राजन भण्डारीले ढुंगेलले भनेको कुरा जायज भएपनि अलि समयअनुकुल नभएको भन्दै आलोचना गरेका छन् ।

उता,ढुंगेलको यो स्टाटस्प्रति नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकोटाले समेत आलोचना गरेका छन् । देवकोटाले यो समयमा यसरी आलोचना गर्न नुहने भन्दै उनको स्टाटस् डिलिट गर्न सुझाव दिएका छन् ।

त्यस्तै, ढुंगेलले लेखेको चोटिलो व्यंग्यमाथि समर्थन जनाउँदै रामेश्वर डाँगीले लेखेका छन्, ‘१७ हजार रगतमा डुबुल्की मारेर बस्ता रमाउँदा, लासमा सुत्दा मारिने परिवारका सदस्यलाई पनि यस्तै भन्दा कम पीडा नभाको होइन, अरुलाई मार्दै गर्दा एक मुठी पानी पिउन दिइएन, परिवारसँग बोल्न भेट गर्न दिइएन, जिउँदै खाल्डोमा हालेर मार्न पछि परेनन् तर आफैं कालगतिले मर्नु, अरुबाट निमर्म ढंगले मारिनु जत्तिको पीडा नहोला कमरेडहरु । तर पनि अनुभूति सबैले भोग्नु सहनु नै पर्ला । सत्र हजारमध्ये मैले पनि त्यो बेला २०६० सालमा बुबा मारिदा जसरी भोगे, बेहोरे, सहे आज आयो पालो । ढिलै भएपनि पृथ्वी गोलो छ भन्थे हो रैछ र पनि श्रद्धाञ्जली ।’

मुलुककै बौद्धिक र प्राज्ञिक व्यक्तित्वको रुपमा स्थापित ढुंगेलको यो स्टाटसबारे धेरैले निकै तल्लो स्तरमा गिरेर गाली समेत गरेका छन् । उनीहरुले मानवीय समवेदनालाई हेक्का राख्न बौद्धिक व्यक्तित्वहरुसँग आग्रह गरेका छन् । तर दाहालको नेतृत्वमा भएको आन्दोलनले जनतालाई कति धेरै पीडा दिएको रहेछ भन्ने कुरा उनलाई पारिवारिक बज्रपात भएको बेलामा समेत समवेदना दिन कञ्जुस्याई गर्ने यी सर्वसाधारणहरुको टिप्पणीले पुष्टि भने गरेको देखिन्छ ।