पु.समाचार

निर्वाचनलाई सफल तुल्याउन नागरिक समाज सहयोग आवश्यक

काठमाडौँ । माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासँग आयोगले आईतबार गरेको अन्तरक्रियामा उनले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भने ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररूपमा लिने बताए । कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरु इला शर्मा, इश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी थिए ।
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचार संहिता पालना गराउनेलगायतका विषयमा आयोगले आवश्यक निर्णय गर्ने संवैधानिक हैसियत राख्ने भएको हुँदा संवैधानिक दायित्वअनुसारको कार्य गरी सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेका धारणा राखेका थिए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको व्यवस्थापनको जिम्मा निर्वाचन आयोगको भए तापनि निर्वाचनको महाअभियानलाई सफल तुल्याउनु हामी सबैको जिम्मेवारी रहेको बिचार ब्याक्त गरे । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले तीनवटा मतपत्रका कारण मतदाता दोधारमा रहने अवस्थालाई अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरुपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन आवश्यक रहेको बताए ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचारप्रसारको शैलीमा सुधार आएको भए पनि बदलिँदो समयअनुसार आचार संहितालाई परिमार्जन गर्ने बेला भइसकेको बताए ।

पूर्वमुख्य सचिव डा. विमल कोइरालाले राजनीतिक दलहरुलाई आचार सहिता पालनाको दायराभित्र ल्याउन आयोग डराउनु पर्दैन भन्न्ने बिचार ब्यक्त गरे । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, धाँधलिरहित र विश्वासनीयरुपमा कार्यसम्पादन गर्न÷गराउन सबैबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले भने–हामी संक्रमणकालीन अवस्थाबाट स्थायित्वतिर अघि बढिसकेका छांै, नयाँ व्यवस्था र नौलो पद्दतिअनुसारको निर्वाचन एकै पटक दुई चरणमा हुन गइरहेको अवस्थामा नागरिक समाजका अगुवाबाट प्राप्त हुने सुझाव सल्लाह आयोगलाई महत्वपूर्ण हुने छ । प्राध्यापक कृष्ण खनालले निर्वाचन आयोगले आफ्ना गतिविधिहरुलाई प्रविधिमैत्री बनाई छिटो छरितो रूपमा कार्य सम्पादन गर्न सुझाव दिए । पूर्वनिर्वाचन आयुक्त डा. रामभक्त ठाकुरले निर्वाचन आचार संहिताको पालना गर्ने विषयमा आयोगलाई अडान लिन सुझाव दिए । कार्यक्रममा नागरिक समाजका अगुवाहरु प्रा.डा. नोवलकिशोर राई, डा. चन्द्रकान्त ज्ञावली, दामोदर गौतम, गणेशकुमार मण्डल, कमलेश अग्रवाल, डा. उद्धव प्याकुरेल, डा. इन्द्र अधिकारीले आचार संहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न र मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगलाई सुझाव दिए । अन्तरक्रियामा आयोगका सहसचिव नवराज ढकालले निर्वाचनको तयारीबारे प्रस्ततीकरण गर्नु भएको थियो । कार्यक्रममा पूर्व सचिव भरतबहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, विजयराज गौतम, ज्ञानेन्द्रप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।