खेलकुद

रियल मड्रिडलाई पछि धकेल्दै भ्यालेन्सिया

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब कायम राखेको छ । अवे मैदानमा भएको खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–० ले हराउँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा झारेको हो ।

क्लबको इतिहासमा लिगमा लगातार आठौं जित निकाल्ने क्रममा  भ्यालेन्सियाका लागि ६७ औं मिनेटमा कोन्डोग्बिया र ८३ औं मिनेटमा मिना लोरेन्जोले गोल गरे ।

जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ भने तेस्रो स्थानको साबिक विजेता रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार लिग लिडर बार्सिलोनासँग खेल्नेछ ।