राजनीति

वाम गठबन्धनको चुनावी कार्यक्रममा प्रयोग भएका मोटरसाइकलमाथि आगजनी

रसुवा । रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकलमा आइतबार साँझ सवा ६ बजे आगजनी भएको हो।

गठबन्धनले ग्रेमा सवारी साधन रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएकोे छ। नेसिङमा चुनावी अभियान सकेर फर्किदै गर्दा घटना भएपछि गठबन्धनका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए।

लोकतान्त्रिक गठबन्धनको पकड क्षेत्र भएकाले लोकतान्त्रिकका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले आसङ्का गरेको छ। घटनापछि गाउँले घर छाडेर हिँडेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सोमबारको नागरिकमा लेखिएको छ, घटनामा संलग्न भएका ब्यक्ति फरार भएको र फरार भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक धुब्र सिलवालले बताए। घटना बारे अनुसन्धान भैरहेको रसुवा प्रहरीले जनाएको छ।