खेलकुद

फ्रेन्च लिग वान फुटबलमा पिएजीको अग्रता

एजेन्सी ।  फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएजी) ले ६ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले नान्टेसलाई ४–१ ले हराएर दोस्रो स्थानको मोनाकोसँगको अंक दूरी ६ पुर्‍याएको हो ।

पिएसजीको जितमा एडिसन काभानीले दुई तथा एन्जल डि मारिया र पास्टोरीले एक एक गोल गरे । नान्टेसका लागि नाकोउल्माले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलमा ३८ औं मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई २–० को अग्रता दिलाए ।

६० औं मिनेटमा नाकोउल्माले नान्टेसका लागि एक गोल फर्काए । पास्टोरीले ६५ तथा ७९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ४–१ ले विजयी भयो । यो खेलमा नेइमारले भने गोल गर्न सकेनन् ।

जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २९ अंक छ ।