उर्जा

माथिल्लो तामकोसी आयोजनाको ब्रेक थ्रू

दोलखा । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रू’ भनिएको हो ।

ऊर्जासचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आइतबार बिहान साढे ८ बजे सुरुङमा ब्रेक थ्रू भएको हो ।

नेपालीको मात्रै लगानी भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ ।

इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्‍याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ ।