राजनीति

श्रृंखलाबद्ध बम आक्रमणबाट के चुनाव प्रभावित होला ? यस्ता छन् कांग्रेस र एमाले नेताहरुका प्रतिक्रिया

काठमाण्डौ । नयाँ संविधान कार्यान्वयनको चरणमा रहेकै बेला हुन लागेको पहिलो निर्वाचनको संघारमा मुलुक अघि बढिरहेको छ । चुनाव हुने दिन नजिकिदै गर्दा देशभर हिंसात्मक आक्रमणका घटनाहरु बढिरहेका छन् । केही हप्तायता नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुमाथि बम आक्रमण भैरहेका छन् ।

चुनावी मैदानमा रहेका उम्मेद्वारहरुमाथि नै केन्द्रीत गरेर यसरी बम आक्रमण हुन थालेपछि के आसन्न निर्वाचन भयरहित ढंगले सम्पन्न होला त ? भन्ने प्रश्नचिन्ह समेत खडा भएको छ ।

शनिबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका बरिष्ठ नेता माधव नेपालमाथि निशाना बनाएर बम आक्रमण भएको छ । दिनप्रतिदिन बढिरहेका यो खालका घटनाहरुबारे नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरुले आपत्ति जनाइरहेका छन् ।

मंसिर १० र २१ गतेको चुनावी मिति नजिकिदै जाँदा यति धेरै घटनाहरु भैसकेका छन्, सम्भवतः चुनाव प्रभावित हुने संकेत देखिन थालेको छ ।

यो सवालमा हामीले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका केही नेताहरुसँग प्रतिक्रिया लिएका छौं । पछिल्ला हप्ता बढिरहेका हिंसात्मक घटनाहरुबारे उनीहरुले यस्तो प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसभित्र बौद्धिक र छिमेकी मुलुक भारतको सत्तापक्षीय राजनीतिक नेतृत्वसँग समेत नजिकै रहेका नेता हुन् डा.अमरेशकुमार सिंह । नेता सिंहले पछिल्लो हप्ता बढेका हिसांत्मक घटना निन्दनीय र लोकतन्त्र विरुद्धको प्रहार भएको बताए । यी घटनाले आसन्न निर्वाचनका लागि सुरक्षा चूनौती बढाएको समेत उनले बताए ।

घटनाहरु कसरी र कोबाट घटाइएका हुन् भन्ने कुराको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताउँदै उनले यो खालको हिंसात्मक क्रियाकलापले चुनावी प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिए ।

सुर्यखबरसँगको कुराकानीका क्रममा उनले भने,‘घटनाहरु भएका कुरा मैले पनि सुनिरहेको छु, म अहिले चुनावी दौडाहाका क्रममा राजधानी बाहिर छु । यदि यी घटनाहरु चुनावलाई प्रभावित पार्ने उद्धेश्यले घटाइएको हो भने त्यो सम्भव छैन । चुनावको अन्तिम तयारी भैसकेको छ । चुनाव त हुन्छ, हुन्छ ।’

त्यस्तै पछिल्ला श्रृंखलाबद्ध बम आक्रमणका कारण के सुरक्षा चूनौती थपिन लागेको हो भन्ने प्रश्नमा एमाले नेता प्रकाश ज्वालाले यी घटनाले सुरक्षा चूनौती मात्र नथपिएर नयाँ संविधान कार्यन्वयन पछि भएको ऐतिहासिक चुनावी अभियानलाई नै प्रभावित पार्ने काम भैरहेको बताए ।

यसबेला हामी सबै ऐतिहासिक चुनावको राष्ट्रिय अभियान सम्पन्न गर्ने संघारमा रहेको बताउँदै यी क्रियाकलाप राष्ट्रिय हित विपरितका कार्य भएको उनले प्रष्ट पारे । नेता ज्वालाले कुनै पनि शक्ति राजनीतिक रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै यदि यो विप्लवहरुकै कारण भएको हो भने यो खालको हिंसात्मक राजनीति मुलुकमा नटिक्ने बताए ।

उनले यी घटनाले चुनाव प्रभावित हुनै नसक्ने बताए । उनले भने, ‘चुनाव सम्पन्न गर्नका लागि सरकारले सुरक्षामा ध्यान दिनुपर्छ र सबै राजनीतिक दलहरु गम्भीरताका साथ लाग्नुपर्छ ।’