राजनीति

ओखलढुंगामा खतिवडा र सुनुवारबीच यस्तो छ प्रतिस्पर्धा

कालिका खड्का
ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

मुलुक संघीय संरचनामा गएसँगै प्रतिनिधिसभा एक र प्रदेशमा दुई सिट कायम रहेको ओखलढुंगामा काँग्रेसलाई आफ्नो विरासत जोगाउन ठूलै कसरत गर्नुपर्ने अवस्था छ भने वाम गठबन्धनसामु काँग्रेसको किल्ला तोड्ने चुनौती छ ।

काँग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गरेसँगै दुबैले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।

ओखलढुंगामा स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा वाम गठबन्धन अगाडि देखिन्छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा गएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखमा ६० हजार ८०४ मत खसेको थियो । त्यसमा वाम गठबन्धनले ३३ हजार ५३२ र लोकतान्त्रिक गठबन्धनले २६ हजार ८१७ मत प्राप्त गरेका थिए । गठबन्धन बाहिर रहेका अन्य दलले भने ४५५ मत प्राप्त गरेका थिए ।

प्रदेश ९क० मा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४९९ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७८७ मत प्राप्त गरेका थिए ।

प्रदेश ९ख० मा रहेका चार गाउँपालिकामा काँग्रेसले तीन वटामा र एमालेले एउटामा जित हासिल गरेको थियो । यो क्षेत्रमा वाम गठबन्धनले १७ हजार ३२ र लोकतान्त्रिक गठबन्धनले १४ हजार ९९ मत प्राप्त गरेका थिए ।

सिद्धिचरण नगरपालिकामा भने एमालेका उम्मेदवार विजयी भए । सात गाउँपालिकामध्ये दुईमा एमाले, चारमा काँग्रेस र एकमा माओवादी केन्द्र विजयी भएका थिए ।

ओखलढुंगामा काँग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशनलगायत नौ दलका २१ र स्वतन्त्र एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको उम्मेदवारले जिल्लाको उन्नति र समृद्धिका लागि आफूलाई जिताउन मतदातासँग आग्रह गर्दै गाउँगाउँ घुमिरहेका छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि आ–आफ्नो क्षेत्रका मतदातासँग भोट माग्न व्यस्त छन् ।

बागी उम्मेदवारका कारण काँग्रेसलाई कष्ट

टिकट वितरणमा रुष्ट एक दर्जनभन्दा बढी काँग्रेस नेता बागी उम्मेदवारका प्रचारमा खटिएका छन् ।

प्रदेश (ख) मा काँग्रेसले (क) क्षेत्रका नेतालाई टिकट दिएपछि रुष्ट नेताहरु बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दालीको पक्षमा लागेको बताइन्छ ।

प्रदेश (ख) मा जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

रुम्दाली ७० र ७४ सालको संविधानसभाको निर्वाचनमा समेत बागी उम्मेदवार थिए । हारेपछि उनीमाथि कारबाही भएको थियो ।

दुबै पक्षको चुनाव जित्ने दाबी

मतदानको मिति नजिकिँदै जाँदा वाम गठबन्धनका सुनुवार र काँग्रेसका खतिवडा दुवैले चुनाव जित्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार खतिवडाले भने, “जनभावनाअनुसार यो जिल्लाको विकास मैले गरेको छु, मैले चुनाव जित्छु ।” पाँच हजारदेखि सात हजार मत बढी ल्याएर जित्ने खतिवडाको दाबी छ ।

खतिवडा जस्तै सुनुवार पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । सुनुवारले भने – “जिल्लाका ठूल्ठूला विकास निर्माण काम मैले गरेको छु । भ्रष्टाचारमुक्त र सुशासनयुक्त जिल्ला बनाउन मैले चुनाव जित्नै पर्छ र जित्छु पनि ।” सुनुवारले आफूले तीन हजारभन्दा बढी मत ल्याएर जित्ने दाबी गरे ।

यसअघि दुई क्षेत्रबाट चुनाव जितेका उनीहरु अहिले एकमात्र क्षेत्र भएकाले दुवै आमनेसामने प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आएको छ ।

नागरिक समाज ओखलढुंगाका अगुवा हिजराज कार्कीका अनुसार खतिवडा र सुनुवार दुवै बलियो उम्मेदवार हुन् ।

ओखलढुंगाको प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका अम्मिरबाबु गुरुङ र काँग्रेसबाट मित्रसेन दाहाल प्रतिस्पर्धामाहुन् । त्यस्तै प्रदेश (ख) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मोहन खड्का हिमशिखर र काँग्रेसका तर्फबाट जिल्ला सभापति सुनुवार प्रतिस्पर्धामा छन् ।

यहाँ एक स्वतन्त्रसहित नौ राजनीतिक दल चुनावी मैदान छन् । कूल १४१ मतदान केन्द्र रहेको ओखलढुंगामा एक लाख दुई हजार २६३ जना मतदाता रहेका छन् ।