साहित्य

‘लभ एट पच्चीस’ उपन्यास विमोचन

काठमाडौँ । लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ ।

युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, संयम र संकल्पप्रतिको विश्वासलाई देखाउन खोजिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुस्तकको बुधबार विमोचन गर्दै माया तथा प्रेमको माध्यमबाट प्राप्त हुने सन्तोष धन, सम्पत्ति वा कुनै पनि विषयवस्तुसँग दाँज्न नसकिने सन्देश पुस्तकमा पाइने बताए ।

प्रा डा कृष्णप्रसाद दाहालले डायरी साइजमा ल्याइएको सो उपन्यासमा पाश्चात्य मुलुकमा विकास भएको सम्पन्नताको नाममा हुने सम्बन्ध र विच्छेद भन्दा फरक सन्देश नेपाली समाजको मौलिकताका रुपमा देखाउन खोजिएको छ, उनले भने ।

लेखक गौतमले आधुनिक समाजमा बढ्दै गएको व्यस्तताका बीच पुस्तकमा भएका पात्र (युवा र युवती) मन मिलेपछि निरन्तर २५ दिनसम्मको भेटघाटबाट उनीहरु वैवाहिक जीवनमा प्रवेश गर्न सफल भएको कथालाई उपन्यासका रुपमा प्रस्तुत गरिएको जानकारी दिए ।

उक्त कृतिबाट आउने रोयल्टी रकममध्ये रु ५० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराइने जानकारी दिइएको थियो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दुःख पीडाले भरिएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशका विकट स्थानमा आफ्नो संस्थाद्वारा बस्ती निर्माणका कार्य भइरहेको जानकारी गराए ।