अन्तर्राष्ट्रिय

जिम्बावेको सेनाले सुरु गर्यो सैनिक शासनको पूर्वाभ्यास

एजेन्सी । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् ।

जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् ।

यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो । यहाँको राष्ट्रिय सेनाका प्रमुखले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सत्तारुढ दलले अपराधी र घुसखोरहरुलाई संरक्षण प्रदान गरेको भन्दै आवश्यक परे सेनाले देशको शासन सत्ता हातमा लिएर शुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको थियो ।

उक्त कुराको थप पुष्टि आज भएको भनी सत्तारुढ दलले भनिरहँदा यहाँको सेनाले पनि त्यसको पुष्टि गरेको छ ।
सेनाले यहाँको सरकारी रेडियो र टेलिभिजन कब्जामा लिएको स्वीकार गरेको छ र भनेको छ– गत सोमबारको प्रेस विज्ञप्तिभन्दा हामी एक कदम अगाडि बढेका छौँ ।

देशमा पछिल्लो समयमा बढ्दै गएको राजनीतिक कलह सुल्झाउन जिम्बावेको सेनाले हस्तक्षेपको तयारी गरिरहेको बताइएको छ ।

तर यहाँको सत्तारुढ दलले भने देशको राजनीतिक कलह सुल्झाउन नभई सेना प्रमुखले सैनिक विद्रोहलाई नै बढावा दिएको आरोप लगाएको छ ।

जिम्बावेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । सेनाले भने उहाँको सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

सेनाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सबैभन्दा पहिला त हामी जिम्बावेका राष्ट्रपति र उहाँको परिवारलाई सुरक्षित राख्न चाहन्छौँ, उहाँहरुको सुरक्षा व्यवस्था चुस्त रुपमा गर्न चाहन्छौँ ।

 सो विज्ञप्तिमा भनेको छ– हामीले राष्ट्रपतिलाई केही गर्दैनौँ, हाम्रो तारो भनेको उनको वरिपरी रहेका राजनीतिक नामका अपराधीहरुको हुन् ।

यहाँको सेनाले यो अभ्यासलाई सैनिक शासनको तयारी भनेर स्पष्ट नभने पनि यस अवस्थालाई सैनिक शासनको पूर्वाभ्यासका रुपमा विश्लेषण गरिएको छ ।