राजनीति

निर्वाचनमा खट्ने कर्मचारी गोलाप्रथाद्वारा छनौट

चरिकोट । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका विभिन्न मतदान केन्द्रमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशनअनुसार नै गोला प्रथाबाट कर्मचारी छनोट गर्न सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ बमोजिम मंसिर १० गते हुने निर्वाचनमा दोलखामा एक हजार ५१३ कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

आवश्यक कर्मचारी गोलाप्रथा विधि प्रयोग गरी छनोट गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए। यसपटक परम्परागत शैलीमा कर्मचारी खटाउने तयारी गरिएपनि आयोगको निर्देशनपछि गोलाप्रथा गरिएकामा कर्मचारीहरूले भने खुशी व्यक्त गर्न थालेका छन्।

मंगलबार मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको छनोट भएको हो। विगतमा आफू अनुकूलका स्थानमा खटाउन कर्मचारी, तिनका संगठन र दलहरूले निर्वाचन अधिकृतलाई दबाब दिँदै आएका थिए।

राजनीतिक दल र तिनका उम्मेदवारले पनि कर्मचारी खटनमा भनसुन गर्दै आएका थिए।बिहीबारको अन्नपूर्णमा लेखिएको छ, पहुँचवाला कर्मचारीहरू सदरमुकाम नजिक र सुविधा भएका ठाउँ रोज्दै जाने भएपछि गोलाप्रथा अपनाइएको हो।