राजनीति

मंगलबार प्रधानमन्त्री देउवा जाँदै, एमाले अध्यक्ष ओली फर्किदै

काठमाण्डौ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा मध्यपश्चिम र सुदुरपश्चिमको चुनावी अभियानमा निस्किदैछन् । केही हप्तादेखि पूर्वी नेपालको चुनावी अभियानमा खटिरहेका प्रधानमन्त्री देउवाको त्यहाँको कार्यक्रम सकेर पश्चिम नेपालको अभियानमा जान लागेका हुन् ।
प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्ज पुगेर त्यहाँका सुरक्षा निकाय र प्रशाशनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् । त्यहाँ उनले दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेता र नेपाली कांग्रेसका त्यो क्षेत्रका उम्मेद्वार तथा कार्यकर्ताहरुसँग समेत भेटघाट गर्नेछन् ।

नेपालगञ्जपछि प्रधानमन्त्री देउवा बुधबार धनगढी र बिहीबार गृह जिल्ला डडेलधुरा पुग्ने कार्यक्रम छ । त्यसपछि मंसिर १ गते दार्चुला र बैतडी, २ गते बझाङ्ग र बाजुरा त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई संबोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

ओली फर्किदै 
यस्तै गएको शुक्रबार गृह जिल्ला झापा गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार काठमाडौं फर्कदै छन् । पाँच दिनसम्म झापाका विभिन्न सभामा सम्बोधन र चुनावी प्रचार प्रसारमा रहेका ओली बुधबारदेखि बाम गठबन्धनले विभिन्न जिल्लामा गर्न लागेको चुनावी सभामा सहभागी हुन काठमाडौं फर्किन लागेका हुन् ।

गठबन्धनले बुधबार गोरखाबाट सुरु गर्ने सभा मंसिर ९ गते पोखरामा पुगेर सकिनेछ । सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।