सामाजिक सञ्जाल

आक्रामक बन्दै आधुनिक चुनावी प्रचारशैली, कुन दल कति अगाडि ?

काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै दलहरुले आ–आफ्नै खालका चुनावी अभियानहरु सञ्चालन गरिरहेका छन् । सबै राजनीतिक दलहरु अहिले चुनावी घरदैलो अभियानमा व्यस्त रहेका छन् । यही बीचमा केही राजनीतिक दलहरुका चुनावी अभियानहरु फरक–फरक र अनौठा शैलीका समेत देखिएका छन् ।

अधिकांश राजनीतिक दलहरुले परम्परागत ढंगले हुने चुनावी प्रचार अभियान शैलीलाई पछ्याइरहेका बेला केही राजनीतिक दलहरुले भने अहिलेको आधुनिक र नयाँ किसिमका प्रचार शैलीलाई प्राथमिकता दिइरहेका छन् । गाउँघर र बस्तीहरुमा पुगेर गरिने घरदैलो अभियान शताब्दीयौंदेखि चल्दै आएको परम्परागत चुनावी प्रचारको शैली हो ।

टोल–टोलमा चुनावीसभा गर्ने र त्यसका लागि पर्चा,पम्प्लेट र माईकिङ गरेर भोट माग्नु पुरानो शैली हो, त्यो राजनीतिक परम्परा अहिले पनि कायमै छ तर केही राजनीतिक दलहरुले अब समयको प्रभावसँगै नयाँ–नयाँ प्रचार शैलीलाई प्राथमिकता दिन थालेका छन्, जुन प्रचार शैलीले एक ठाउँमा गरिएको कार्यक्रम र परिघटनालाई एकै सेकेण्डमा हज्जारौ फलोअर्सहरुसम्म पुर्याइदिन सक्छ ।

पछिल्लो समयमा विकास भएको फेसबुक, ट्वीटर, अनलाइन पेज लगायतका आधुनिक वेभ संस्करणहरुले यसमा सहयोग पुर्याएको छ, जुन प्रचारको संस्कृति केही वर्षअघिसम्म विकसित मुलुकहरुमा मात्र देख्न पाइन्थ्यो तर अहिले नेपालमा पनि यसको प्रयोग ह्वात्तै बढेको छ । यसले अब नेपाली समाजको विकासको रफ्तार निकै अघि बढिसकेको संकेत दिएको जानकारहरु बताउँछन् ।

यस्तो छ दलहरुको पछिल्लो प्रचारको शैली !
काठमाण्डौ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फको उम्मेद्वार बनेका रविन्द्र मिश्र अहिले चुनावी अभियानमा व्यस्त छन् । काठमाण्डौका प्रत्येक टोल–टोलमा पुगेर भोट मागेका तस्वीरहरु उनले मिनेट–मिनेटमै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अपलोड गरिरहेका हुन्छन् ।

त्यस्तै, उनकै पार्टीका नेता उज्वल थापाले चुनावी प्रचार शैलीलाई त्योभन्दा आधुनिक ढंगले पिच्छ्याइरहेका छन् । थापाले समाजका पात्रहरुलाई समेटेर अत्यन्तै व्यवहारिक भिडियोहरु सार्वजनिक गरिरहेका छन् । उनले कहिले किचन रुममा बसेर खाना पकाउँदै चुनावी बहस चलाएको देखिन्छ भने कहिले पार्कमा बसेर बदाम खाँदै मुलुकका लागि अब नयाँ राजनीतिक नेतृत्वको खोजी हुनुपर्ने विषयमा बहस गरिरहेका भिडयोहरु सार्वजनिक भैरहेका छन्, जबकी उनले सर्वसाधारण व्यक्तिहरुले कसरी आफ्नो जीवन यापन गरिरहेका छन् र तिनलाई राजनीतिक रुपमा कसरी मोटिभेसन गर्न सकिन्छ भन्ने चुनावी प्रचार शैलीलाई प्राथमिकता दिइरहेका छन् ।

नेता थापाले त्यो खालका थुप्रै भिडियो कथा निर्माण गरेका दृष्यहरु अहिले सामाजिक सञ्जालहरुमा छरपष्ट रुपमा देखिन्छन् । त्यस्तै,नेपाली कांग्रेसका युवा नेता गगन थापा हुन् वा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई हुन्, सबैले सामाजिक सञ्जालमार्फत चुनावी प्रचार शैलीलाई व्यपाकता दिइरहेका छन् ।

बाबुरामले गोरखाका दुर्गम क्षेत्रमा घुमिरहेका तस्वीर र भिडियोहरु आफ्नो फेसबुक र ट्वीटर अकाउन्टमा पोष्ट गरिरहेका हुन्छन् । त्यस्तै गगन थापाका चुनावी प्रचार अभियानका तस्वीरहरु समेत भाइरल भैरहेका छन् । उता, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले त चुनावी प्रचारशैलीलाई निकै आधुनिक ढंगले पिच्छ्यारहेका छन् ।

एमालेका अधिकांश उम्मेद्वारहरुले आफ्नो लागि मत माग्न भिडियो सन्देशहरु निर्माण गरेका छन् । एमाले नेताहरु माधव नेपाल, वामदेव गौतम, योगेश भट्टराई, शंकर पोख्रेललाई अहिले हामी पोष्टर र पम्प्लेटमा भन्दा पनि फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालहरुमा भिडियो सन्देश फलाकिरहेको अवस्थामा भेट्ने गर्छौ ।

नेपाली कांग्रेसका नेताहरुले पनि यो प्रविधिलाई पिच्छ्याइरहेको पाइन्छ । यसबाट प्रविधिको विकाससँगै भएको यसको उपयोगिताले नेपालमा पनि चुनावी प्रचारशैलीमा थप विकास भएको अनुमान गर्न सकिन्छ ।

दूरुपयोग पनि बढिरहेको छ !
सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार शैलीलाई जति व्यापकता दिइएको छ, त्यतिनै यसको दूरुपयोग पनि बढिरहेको छ । राजनीतिक रुपमा आरोप–प्रत्यारोपमात्र होइन, यसको उपयोगले निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना भयो कि भएन ? भन्ने प्रश्नहरु समेत उठिरहेको छ ।

त्यतिमात्र होइन, अन्य सामाजिक विकृतिहरु समेत सामाजिक सञ्जालका कारण बढिरहेको सरोकारवाला पक्षहरुले बताइरहेका छन् । मुलुकका अत्याधिक युवाहरु सामाजिक सञ्जालमा जोडिने भएकोले राजनीतिक दलहरुको उपयोगिताको साधन त यो बनेको छ, तर यो कतिपय सन्दर्भमा हिंसात्मक घटना गराउन उदृत गराउनेदेखि यौन विकृति र आर्थिक अराजकताका विषयहरुमा समेत जोडिन थालेको छ ।

अपराध कर्ममा लागेकाहरुले सामाजिक सञ्जाललाई उपयोग गरिरहेका खबरहरु प्रहरीले समेत सार्वजनिक गरिरहेको छ । सामाजिक सञ्जालको उपयोगका लागि आचारसंहिता समेत बनाउने तयारीमा सरकार लागिरहेको देखिएपनि भर्खरै भित्रिएको आधुनिक प्रविधि भएकोले सरकार समेत अलमलमै परिरहेको देखिन्छ, यसका लागि सबै पक्षले सरकारलाई समेत सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिन थालेका छन् ।