खेलकुद

साठी वर्षपछि इटालीबिहिन विश्वकप हुँदै

एजेन्सी । चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा  रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो ।

स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो । इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।

समग्रमा इटालीलालाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो ।  खेल अवधिभर अधिकांश समय बलमा नियन्त्रण रहेर पनि इटालीले बललाई विपक्षीको  पोस्टमा प्रहार गर्न भने सकेन । इटालीलाई गोल गर्न नदिनु नै स्वीडेनका लागि विश्वकप यात्रा तय गर्ने बाटो बन्यो ।

इटालीले २७ पटकसम्म पोस्ट प्रहार गरे पनि त्यो गोलमा परिणत भने हुन सकेन । विश्वफुटबलमा आफ्नो उत्कृष्ट खेल कौशल तथा भव्य व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनका लागि अन्तिम खेल निकै निराशाजनक बन्यो । ३९ वर्षका बुफोनले यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका ले स्वीडेनसँगको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो ।