समाचार

बस दुर्घटनामा तीनको मृत्यु, आठ जना गम्भीर घाइते

बैतडी । बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परी अन्य आठ जना गम्भीर घाइते भएकामा छ जनाको कैलालीको पद्मा अस्पातालमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका दुई जनालाई भारतको हल्दवानी पठाइएको छ । भारत पठाइएकामा कञ्चनपुर, भीमदत्तनगर गोवरैयाका ५० वर्षीय रामदास र १५ वर्षीय सन्तोष दास रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको परिचय खुल्न सकेको छैन ।

शनिबार बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २७२३ नं को बस भीमदत्त राजमार्गको चुरे गाउँपालिका– ३ धपेनीमा आज बिहान ५ बजे दुर्घटनामा भएको हो ।
बस चालक पनि गम्भीर घाइते भएकाले बस दुर्घटनाको कारण खुल्न नसकेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । उनले भने, “सडक छेउका पिल्लर तोडेर बस घुम्तीबाट १०० मिटर तल खसेको छ । ”