खेलकुद

पोर्चुगलको सहजै जित

एजेन्सी ।  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले साउदी अरेबियालाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले भ्रमण टोली साउदी अरेबियालाई ३–० ले हराएको हो । क्रिष्टियानो रोनाल्डो बिना  खेलेको पोर्चुगलले उनी नभए पनि साउदी अरेबियालाई सहज रुपमा हरायो ।

प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई  अन्तर्राष्ट्रिय ब्रेकको क्रममा आराम दिएका छन् । पोर्चुगलको जितमा म्यानुएल फर्नान्डेस, गोन्कालो गुएडेस र जोएओ मारिओले गोल गरे । पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकपका लागि छनौट भइसकेको छ । साउदी अरेबियाले पनि  विश्वकपमा स्थान बनाएको छ ।

विश्वकप यात्रा तय गर्न महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोलाई यो पटक प्रशिक्षकले आराम दिएका हुन् । पोर्चुगलले आउँदो शनिबार अमेरिकासँग मैत्रिपूर्ण खेल खेल्नेछ । राति नै भएका अरु खेलमा जर्जियाले  साइप्रसलाई १–० तथा  युक्रेनले स्लोभाकियालाई २–१ ले हरायो । बेल्जियम र मेक्सिकोले ३–३ तथा पोल्याण्ड र उरुग्वेले गोलरहित बराबरी खेले ।