समाचार

यसरी हुँदैछ ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयारी

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन् ।
उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।
गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा(माओवादी केन्द्र) ले राखेको जानकारी दिए ।
उनका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताए । त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ ।