राजनीति

पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदहरु नै निर्बाचनको मैदानमा भएका कारण चितवनको चुनाब उत्शाहजनक

नारायण ढुंगाना
रत्ननगर, चितवन । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिष्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरु सबैको चासो र चर्चाको विषय बनेको छ ।

मतदाता मनोज अर्याल पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिष्पर्धा निक्कै चासोको विषय बनेको बताउछन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षण मन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिष्पर्धामा हुन् ।

अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल नै चुनावी मैदानमा छन् ।

उनको प्रतिष्पर्धीका रुपमा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बहालवाला वन तथा भूसंरक्षण मन्त्री पाण्डे रहेका छन् । दाहाल वाम गठबन्धनबाट उम्मेदवार भएका छन् भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट आएका हुन् ।

पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गर्नुभएका दाहालले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दावी गर्छन् । पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय छन्् ।

उनीहरुसहित कूल १४ जनाको उम्मेदवारी रहेको चितवन क्षेत्र नम्बर ३ मा अर्का पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री एवं नेकपा (माले)का नेता श्रेष्ठको समेत उम्मेदवारी छ । सो क्षेत्रमा ६ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री तथा सांसद शेषनाथ अधिकारीको उम्मेदवारी परेको छ । उनीसँग वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा छन् ।

देवघाटबाट जनताको आशिर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल भन्छन्, “जिल्लामा वाम गठबन्धनको जित सुनिश्चित छ ।’ अधिकारी आफू यहाँको ‘अग्र्यानिक’ उम्मेदवार भएकाले मतदाताहरुले मत दिने दावी गर्दै चुनावी अभियानमा छन् ।

यसअघिको निर्वाचनमा पोखरेल क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् भने अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित भएक हुन् । चितवन क्षेत्र नम्बर २ मा १५ जनाको उम्मेदवारी रहेकामा तीनजना स्वतन्त्र उम्मेदवार छन् ।

अहिले निर्वाचन क्षेत्र ५ बाट ३ मा झारिएकाले मतदाताहरुको भोट बाँडिने भएर आकलन गर्नसक्ने स्थिति छैन । तर स्थानीय तहमा आएको पार्टीहरुको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ ।

त्यसो त चितवन क्षेत्र नम्बर १ मा एमालेका पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । उहाँका प्रतिष्पर्धीमा नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । दाहाललाई देखाउँदै पाण्डेले जिल्लाको विकास दुई भाइले गरेरै छाड्ने बताए । यहाँबाट प्रतिनिधिसभामा उठेका १३ उम्मेदवारमध्ये ३ जना स्वतन्त्र छन् । यसअघि २०७० को निर्वाचनमा पनि उहाँहरुबीच नै प्रतिष्पर्धा भएको थियो ।

प्रदेशसभातर्फ यस्ता छन् उम्मेदवार
चितवनमा मुख्य दलहरुबाट उम्मेदवार बनेका नेताहरु अहिले भोट माग्न घरदैलोमा व्यस्त छन् । क्षेत्र नम्बर १ मा प्रदेश (क)मा काँग्रेसका धनबहादुर गुरुङ् तथा (ख) मा उत्तम आचार्य छन् ।

क्षेत्र नम्बर २ को प्रदेश (क) मा जीतनारायण श्रेष्ठ र (ख)मा प्रकाश अधिकारी तथा क्षेत्र नम्बर ३ को प्रदेश (क)मा दिनेश कोइराला र (ख)मा साजनकुमार महतो प्रतिष्पर्धामा छन् ।

यता वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश (क)मा दावा लामा र (ख)मा कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रदेश (क)मा घनश्याम दाहाल र (ख)मा विजय सुवेदी छन् ।

यस्तै, क्षेत्र नम्बर ३ को प्रदेश (क)मा कृष्ण भुर्तेल र प्रदेश (ख) रामलाल महतो चुनावी मैदानमा छन् ।

मतदाताको अवस्था र मतदान स्थल

अघिल्लो निर्वाचनको भन्दा ४१ हजार मतदाता थपिएर यसपटक जिल्लामा कूल ३ लाख ५४ हजार ३६ पुगेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् । यहाँ कूल ५६ वटा मतदान स्थल तोकिएको छ ।

क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ । यस्तै, क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका छन् । मतदान स्थल भने ६२ तोकिएको ढकालले बताए ।

जिल्लामा कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।