शिक्षा

पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक

पाल्पा । जिल्ला कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक बन्न थालेका छन् । वन्दीबाट तानसेन नगरपालिकाका विद्यार्थी र शिक्षकलाई मुडा बुन्ने व्यावहारिक सीप सिकाउन थालिएको छ ।
तानसेनस्थित सेन्ट कपितानियो स्कुलको कक्षा ५ र ६ कक्षाका पाँच विद्यार्थी र चार शिक्षिकालाई दुई दिनसम्म वन्दीले मुढा बनाउने सीप सिकाएका हुन् ।

बाँस, टायर, धागोका सामग्री प्रयोग गरी बनाइएका मुढा बजारमा रु ५०० भन्दा बढी पर्छ । ब्रिटिश काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गतको सेन्ट कपितानियो स्कुलको प्रोजेक्ट ‘अनलक द आइरन गेट’ ले कारागारका वन्दीलाई प्रशिक्षक बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय र कारागारको सहयोगमा प्रशिक्षार्थीले व्यावहारिक सीप सिक्नाका साथै कारागारभित्रको जीवनशैली नजिकैबाट नियाँल्ने मौका पनि पाएको सम्बद्ध विद्यालयले जनाएको छ ।

स्कुलकी प्रधानाध्यापक सिस्टर एनिस जोसेफले यो कार्यक्रमले कारागारका बन्दी र विद्यार्थी दुवैलाई नयाँ अनुभव प्राप्त हुनाका साथै बन्दीका ज्ञान र क्षमताको उपयोग गर्नु आवश्यक रहेको प्रधानाध्यापक जोसेफले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीमा हुने कारागारसँग सम्बन्धित कौतुहलता मेटाउन मद्दत पुग्नेछ । प्रोजेक्ट संयोजक सेन्ट कपितानियोकी शिक्षिका कला दाहालले कारागार र बन्दीप्रति अन्य व्यक्तिमा हुने डर पनि हटने उल्लेख गर्दै बन्दीलाई त्यहाँबाट छुटेपछि समाजमा खुल्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले यसमा सबै जनताको सकारात्मक सहयोग आवश्यक रहेको पनि बताए । कारागारमा दुई दिन बिताएका विद्यार्थीले विद्यालय फर्केपछि आफूले सिकेका र बुझेका सीप अन्य विद्यार्थीलाई सिकाउने भएका छन् ।