समाचार

यसरी बनाए प्रहरीले देउसीभैलो खेलेको पैसाले बजार झिलीमिली

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिक रुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन् ।

गत आइतबार नगरपालिका केन्द्रको माथिल्लो बगरदेखि ठूली पुलसम्मका बिजुलीका खम्बामा २१ सिएफएल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्ष सिजवालले बताए ।
“चौकीका प्रहरीहरुले सामूहिक रुपमा तिहारमा देउसी खेल्दा रु सोह्र हजार उठेको थियो, सो रकमबाट तार र सिएफएल बल्ब खरिद गरेर बगर बजारका प्रत्येक पोलमा बत्ती जडान गरेका छौ, बत्ती जडान गरिएपछि शान्ति सुरक्षाका हिसाबमा पनि सघाउ पुग्ने विश्वास छ”, सिजवालले भने ।“
जताततै उज्यालो भएपछि नगरका पसल तथा घरमा चोरी हुने सम्भावना पनि कम हुने विश्वास लिइएको छ । त्रिपुरासुन्दरी नगरपालिकाका महिला तथा प्रहरीले प्रत्येक वर्ष तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्दैआएका छन् ।