समाचार

वाम गठबन्धनको काठमाडौँ १ मा प्रचार कार्यालय उद्घाटन

काठमाडौँ । आशन्न निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनले संयुक्त कार्यालय स्थापना गरी आजबाट निर्वाचन प्रचार शुरु गरेको छ ।

बिजुलीबजारस्थित प्रचार कार्यालयको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा (माओवादी केन्द्र) का लीलामणि पोखरेलले उद्घाटन गरे ।

सो अवसरमा उपाध्यक्ष ज्ञवालीले मुलुकको समृद्धिका लागि वाम गठबन्धनले विजय हासिल गर्नुपर्ने बताए । उनले वाम एकता अहिलेको आवश्यकता भएकाले निर्वाचनपछि पार्टी एकता हुने जानाए ।

केन्द्रका नेता पोखरेलले पार्टी एकताकै लक्ष्यसहित आफूहरुको चुनावी तालमेल गरिएको स्पष्ट गरे ।

गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार अनिल शर्माले बागमती र विष्णुमति नदीको प्रदूषण हटाइ स्वच्छ हराभरा क्षेत्र र अन्य विकासका कार्यक्रमका साथ आफू अघि बढेको बताए ।

सो क्षेत्रको प्रदेश क र ख का उम्मेदार विष्णुकुमारी भुषाल भट्टराई र गणेशप्रसाद दुलालले पनि आफूहरुको चुनावी अभियानमा समर्थन बढ्दो रहेको दाबी गरे । सो क्षेत्रको प्रचारका लागि श्याम तण्डुकारको संयोजकत्वमा समिति गठन गरिएको छ ।