खेलकुद

म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले शानदार जित निकाल्दै अग्रता ८ अंकमा पुर्‍याएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हरायो ।

पेप गार्डिवलाको टिम सिटीलाई लगातार नवौं महत्वपूर्ण जित दिलाउने क्रममा केविन डि ब्राउन, सर्जि सर्जिओ अग्युरो र गाब्रियल जिससले गोल गरे । १९ औं मिनेटमा डि ब्राउनको गोलबाट सिटीले अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० ले अघि रहेको सिटीका लागि ५० औं मिनेटमा अग्युरोले अर्को गोल थपे । ६५ औं मिनेटमा आर्सनलका लागि अलेक्जेन्डर लाकाजेटीले एक गोल फर्काए ।

७४ औं मिनेटमा जिससले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितपछि लिडर सिटीको  ११ खेलबाट ३१ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २३ अंक छ ।

राति नै भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराएको टोटनह्याम २३ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको चेल्सीको २२ अंक भएको छ ।