खेलकुद

१५ वर्षपछि नेपालको पहिलो विजय

काठमाण्डौ । नेपाली यू–१९ क्रिकेट टोलीले बंगलादेश यू–१९ माथि १५ वर्षपछि पहिलो विजय हात पारेको छ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न बंगलादेश गएको नेपाली यू–१९ टोलीले आइतबार ६ विकेटको एतिहासिक जित हात पारेको हो ।

नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । त्यसयता नेपालले यू–१९ मा टेस्ट खेल्ने राष्ट्रहरू पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गरिसकेको छ । बंगलादेशमाथि भने अर्को जित हात पार्न सकेको थिएन ।

बंगलादेशको साभार स्थित बिकेएसपी मैदानमा आइतबार टस जितेको बंगलादेश यू–१९ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय २५ रन बनायो । घरेलु टोलीबाट अमिनुल इस्लामले ८० रन बनाए । नेपालबाट अनिल शाहले २ तथा किशोर महतो, सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, ओपनर आशिफ शेखले ९० रनको सानदार इनिङ्स खेलेपछि नेपालले ४६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । ८८ बल खेलेका म्यान अफ द म्याच आशिफले ९ चौका र ३ छक्का प्रहार गरे । उनीसँगैं आएका अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ४५ रन बनाए । दीपेन्द्र २७ रनमा नटआउट रहे ।