कुराकानी

बाम गठबन्धन उल्टोबाटो हिँडिरहेको छ : डा.प्रकाशसरण महत, केन्द्रीय सदस्य, नेपाली काँग्रेस (अन्तरवार्ता)

नेपाली काँग्रेसमा लामो समय काम गरेका डा. प्रकाशशरण महत उर्जामन्त्री तथा परराष्ट्रमन्त्री समेत भए । नुवाकोटमा जन्मिएका बौद्धिक महत नेपालमा खुला अर्थतन्त्रको वकालत गर्ने सफल अर्थमन्त्री डा. रामशरण महतका भाईसमेत हुन् । उनी काठमाण्डौको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाबाट साँसदको प्रत्यासी भएका छन् ।

२०३५ सालदेखी स्कुल तहको अध्ययनदेखी नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका डा.महत आफूलाई लागेको कुरा खारो रुपमा प्रस्तुत गर्दै आईरहेका छन् । ०६४ र ७० को निर्बाचनमा नरहरी आचार्यले विजयी हाँसिल गरेपनि हाल आचार्य बिरामी भएर निर्बाचन नलड्ने भएपछि डा। महतले उक्त क्षेत्रको बिकासका लालि थप सकृय हुने ईच्छा अनुसार उमेर्द्वारी दिएका छन् । डा. महतको प्रतिष्पर्धा भने बाम तालमेल भएको बेलाका एमाले महासचिब ईश्वर पोख्रेलसंग हुनेछ ।

दुईपटक नरहरी आचार्यसंग उक्त क्षेत्रमा निर्बाचन लडेपनि पछिल्लो समयमा पनि बौद्धिक नेताका रुपमा चिनिने डा। महत ईश्वर पोख्रेललाई उक्त क्षेत्रका जनताले हराई आफूलाई जिताईदिनेमा आफू बिश्वस्त रहेको बताउछन् । पार्टी सभापति एबम् प्रधानमनत्ती शेरबहादुर देउवासंग लामो समय काम गरेका डा। महतसंग समुन्नत नेपाल प्रतिनिधिले गरेको कुराकानीको संपादिन अंशः

–तपाई नुवाकोटबाट राजनीतिक गरिरहनुभएको व्यक्तित्व एकाएक काठमाण्डौ आउनुभयो नि ?

मेरो बाल्यकाल काठमाण्डौमै बितेको हो । मैले ६ कक्षादेखि नै काठमाण्डौमा पढेको हो । म २०२९ सालमा कक्षा ७ मा पढ्दादेखि नै विद्यार्थी आन्दोलनमा लागे । २०३२ सालको विद्यार्थी आन्दोलनमा म १० कक्षामा पढ्थे । त्यसैबेला म जेल गए । म २०३५ सालदेखि निरन्तर रुपमा काठमाण्डौको बाँसबारीमा बस्दै आएको छु । २०४२ सालको सत्याग्रहमा म पार्टीसँगै काठमाण्डौमै रहेको छु ।

म नुवाकोटमा जन्मिए पनि जीवनको अधिकांश समय काठमाण्डौमै बिताएको छ । २०३५ सालदेखि निरन्तर स्थायी रुपमा काठमाण्डौ बसेकोले मलाई बाहिर र भित्र भन्ने प्रश्नै आउँदैन । त्यस्तै भन्ने हो भने त मसँग चुनावमा प्रतिस्पर्धा गर्ने एमाले नेता ईश्वर पोख्रेलले सुरुमा धनुषाबाट चुनाव लड्नुभयो, त्यसपछि काठमाण्डौ आउनुभयो । उहाँको तुलनामा धेरै नै यहाँको वासिन्दा हुँ । यस्तो खालको विषयलाई जसरी अहिले उठाइँदै छ, म आफै आश्चर्य चकित भएको छु ।

–तपाईको भनाईमा काठमाण्डौमा आफ्नो राजनीतिक हक लाग्छ भन्न खोज्नुभएको हो ?
मैले काठमाण्डौमा पढ्दा खासै धेरै हाइस्कुलहरु थिएनन् । अहिले मलाई बाहिरबाट आयो भन्नेहरु नै बरु बाहिरबाट आएका हुन् ।

–एमाले महासचिव ईश्वर पोख्रेल काठमाण्डौ–५ बाट दुई पटक चुनाव लडिसक्नुभएको छ । अघिल्लो संविधानसभा निर्वाचनमा ३–४ सय मतले हार्नुभएको देखिन्छ, यसो हेर्दा एमाले पनि कमजोर देखिदैन, कांग्रेसले चाहि यसलाई कसरी हेरिरहेको छ ?

मेरो प्रश्न ४ सय मत बढी ल्याउने पार्टी बलियो कि ? कम ल्याउने पार्टी बलियो भयो त ? यसबाट पनि के पुष्टि हुन्छ भने यो क्षेत्र कांग्रेसनै बलियो भएको क्षेत्र हो । दुईपटक लगातार उहाँलाई कांग्रेसले हराइसकेको छ । यसपटक पनि यो क्षेत्रमा कांग्रेसले जित्छ । यसमा दुईमत नै छैन । तीनपटक चुनाव लड्दा ईश्वर पोख्रेल बढी घरहरुमा पुग्नुभएको होला, त्यो फरक कुरा हो तर म एक महिनामै ती घरहरुमा पुग्दैछु ।

नेपाली कांग्रेसको जुन एजेण्डा लिएर म चुनावमा उठेको छु, ती एजेण्डाहरु जनतालाई बुझाएरै छाड्छु । नेपाली कांग्रेसले उठाएको जुन एजेण्डा छ, त्यसलाई म एकमहिना भित्र मेरो क्षेत्रका जनताका बीचमा पुर्याएरै छाड्छु । एमालेहरु भने अहिले उल्टो बाटो हिड्दै हुनुहुन्छ । वाम गठबन्धनका साथीहरु अहिले १५ वर्षभित्र कम्युनिज्म स्थापना गर्ने भन्दै हिडिरहनुभएको छ ।

जनताले हिजो एमाले र माओवादीलाई भोट यसकारण हालेका हुन् कि उनीहरु अब बहुदलीय प्रतिस्पर्धामा आए भनेर विश्वास गरेका हुन् । बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्रता लगायतका कुरामा कम्युनिष्टहरु आए भनेर जनताले विश्वास गरेका हुन् । उहाँहरु त्यसबाट पछि फर्किनुभएको छ । अहिले उहाँहरु बल्ल बल्ल बनाएको संविधानलाई संशोधन गर्ने, प्रत्यक्ष राष्ट्रपतीय शासन लागू गर्ने उद्घोष गरिरहनुभएको छ । उहाँहरुले भन्न खोजेको राष्ट्रपतिय शासन भनेको अमेरिका र फ्रान्सको जस्तो होइन, एउटा पार्टी र त्यसको एउटा नेताले शासन गर्ने शासन पद्धति ल्याउने भन्दै हुनुहुन्छ । त्यो बाटो उल्टो बाटो हो ।

एमाले र माओवादीले अख्तियार गरेको यो बाटोप्रति तिनै पार्टीका नेता, कार्यकर्ता र जनता पनि असन्तुष्ट छन् । म आफैलाई एमालेका धेरै कार्यकर्ता र मतदाताहरुले बचन दिएका छन्, मलाई भोट हाल्छौ भनेर । कतिपय क्षेत्रमा एमालेका सांसदनै कांग्रेसमा प्रवेश गरिसकेका छन् । यो उहाँहरु उल्टो बाटो हिड्नाले देखिएको परिणाम हो ।

–कांग्रेसभित्रकै केही नेताहरुमा पनि पार्टी निर्णयप्रति असन्तुष्टि देखिन्छ नि, यसलाई चाहि के भन्नुहुन्छ ?
त्यस्तो केही छैन, उहाँहरुले पनि पार्टीले केन्द्रीय स्तरको नेताप्रति गरेको यो निर्णयमा हामी एकदमै खुसी छौ भन्ने प्रतिक्रिया दिनुभएको छ । ५ नम्बर क्षेत्रको नेपाली कांग्रेसका नेता, कार्यकर्ता र जनता पूरै लागेका छन् ।

–तपाई काठमाण्डौ ५ को उम्मेद्वार मात्र नभई केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्ने नेतामा पर्नुहुन्छ, अहिले मुलुकभर भैरहेको निर्वाचनमा कांग्रेसकोे स्थिति कस्तो देख्नुहुन्छ ?

अहिलेको निर्वाचन महत्वपूर्ण निर्वाचन हो । हामी नयाँ संविधान निर्माण पछिको राष्ट्रिय निर्वाचन सम्पन्न गर्ने तयारीमा छौ । प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि निर्वाचन हुँदैछ । अहिले एमाले र माओवादीले उठाएको साम्यवाद लगायतका एजेण्डाले यसलाई थप महत्पूर्ण बनाएको छ । उहाँहरुले उठाएको उल्टो बाटो हिड्ने एजेण्डालाई जसरी पनि रोक्नुपर्ने स्थिति आइपरेको छ । मेरो विचारमा यो निर्वाचनमा लोकतान्त्रिक एजेण्डाको पक्षमा बढी जनमत आउँछ ।

तपाईको विचारमा अहिले नेपाली कांग्रेसले कति टि प्राप्त गर्ला ?
–अहिले पार्टीले कति सिट ल्याउला भनेर आंकलन गर्नुभन्दा पनि हाम्रा देशैभर रहेका निर्वाचन क्षेत्रमा होमिएका उम्मेद्वारहरुलाई जसरी पनि जिताउने अभियानमा लाग्नुपर्छ । त्यसले परिणाम तय गर्छ । त्यसैले नेपाली कांग्रेसको पक्षमा स्पष्ट बहुमत आउँछ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छ ।

–वाम गठबन्धनले स्थानीय चुनावको मत परिणामलाई लिएर कांग्रेसलाई अप्ठ्यारोमा पार्ने एउटा हल्ला फैलाइरहेको छ नि, यो हल्लामा कत्तिको सत्यता छ ?
स्थानीय निर्वाचनमा एमाले र माओवादीका उम्मेद्वारहरुले ल्याएको भोटलाई मिलाएर सबै ठाउँमा जितिन्छ भन्ने उनीहरुले हल्ला चलाइरहेका छन् । चुनाव उनीहरुले आंकलन गरेजस्तो अंकगणितमा चल्दैन । स्थानीय चुनावको आफ्नै खालको डाइनामिक एजेण्डा थियो । यो राष्ट्रिय स्तरको निर्वाचनको राष्ट्रिय एजेण्डा हुन्छ । यसमा उहाँहरु उल्टो बाटो हिडिरहनुभएको छ, त्यसलाई त जनताले स्वीकार्दैनन् । त्यसैले उहाँहरुले सोचेजस्तो मतपरिणाम आउनेवाला छँदैछैन । त्यसैले हामीले बहुमत ल्याउँछौ ।

–स्थानीय निर्वाचन र अहिलेको निर्वाचनको अभियाननै फरक छ भन्न खोज्नुभएको हो ?
स्थानीय र अहिलेको निर्वाचनको मुद्धा नै फरक छ । स्थानीय चुनावमा जनताको मत स्थानीय मुद्धाहरुले प्रभाव पार्न सक्छ भने अहिले राष्ट्रिय मुद्धाले प्रभाव पार्छ । स्थानीय चुनावमा व्यक्तिको प्रभाव पनि उत्तिक्कै परिरहेको हुन्छ ।

–मंसिर २१ गते चुनाव सकिएपछि एमाले र माओवादीबीच मनमुटाब आएर कांग्रेसलाई सघाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
उहाँहरु त पार्टी नै एकीकरण गरेर जाने भनिरहनु भएको छ ।

–एमाले र माओवादीबीच एकीकरण हुन्छ र ?
उहाँहरुले त्यही घोषणा गर्नुभएको छ, त्यो त उहाँहरुले जान्ने कुरा हो । तर उहाँहरुले जुन गन्तव्य तय गर्नुभएको छ, यो बाटोबाट उहाँहरु सफल हुनुहुन्न् ।

–तपाईलाई विजयको शुभकामना छ, अन्तमा केही भन्नु छ ?
अन्तमा म के भन्न चाहान्छु भने हाम्रो पार्टी नेपाली कांग्रेस एक ठाउँमा छ । राष्ट्रियताको एजेण्डामा हाम्रो पार्टी ठिक ठाउँमा रहेको छ । मुलुकमा रहेको वर्ग, जाति, जनजाति, सम्प्रदाय, क्षेत्र लगायतको एकतालेनै यो देशको राष्ट्रियता मजबुत हुन्छ, यसमा विभाजन आयो भने राष्ट्रियता कमजोर हुन्छ । सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याने सवालमा पनि हामी एक ठाउँमा रहेका छौ ।

आर्थिक समृद्धिको पहुँचमा जनतालाई पुर्याउनका लागि पनि कांग्रेस कटिबद्ध रहेको छ । जनताको स्वतन्त्रता, मानवअधिकार र विधिको शासनमा पनि कांग्रेस विश्वास गर्छ । अर्को मेरो व्यक्तिगत कुरा पनि छ, अहिले कांग्रेसले उठाएका एजेण्डालाई सही किसिमले प्रस्तुत गर्ने, त्यही किसिमका कानून निमार्ण, त्यही किसिमको व्यवस्थापन गर्ने क्षमता मैले राखेको छु ।

म उर्जा र परराष्ट्रमन्त्री समेत भैसकेको व्यक्ति भएकोले त्यही अनुसार एजेण्डाहरु प्रस्तुत र कार्यान्वयन गर्नसक्छु भन्ने विश्वास छ । त्यसैले मलाई काठमाण्डौ–५ का जनताले चुन्छन् भन्ने विश्वास छ । जनता र कार्यकर्ताहरुले पनि मलाई राम्रो विश्वास गर्छन् । मैले खुल्ला रुपमा समाजसेवा र राजनीतिक सेवा गर्दै आएको छु । त्यसैले पनि मलाई जनताले विजयी गराउँछन् भन्ने विश्वास छ ।