राजनीति

पार्टीभित्र किन उपेक्षित भए केबी गुरुङदेखि धनराज गुरुङ ? कांग्रेस कार्यकर्ताले पढ्नैपर्ने कथा !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र यसबेला भर्खरै दर्ता भएको प्रत्यक्षतर्फ उम्मेद्वारी र समानूपातिकतर्फको बन्दसूचीमा परेका उम्मेद्वारहरुको विषयमा चर्को बहस सुरु भएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरु प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेद्वार बनेका छन् भने केही शीर्ष नेतृत्व (विशेषगरी महिला नेतृ)हरु समानूपातिक तर्फ परेका छन् ।

सबै नेताहरुले प्रत्यक्ष र समानूपातिकतर्फ अवसर पाइरँहदा कांग्रेसका केही प्रभावशाली,पूराना,त्यागी, इमान्दार र केही युवा नेताहरुले समेत ती दुवै कोटामा अवसर पाएका छैनन् । पार्टीका पूर्वमहामन्त्री केबी गुरुङदेखि धनराज गुरुङसम्मका नेताहरु अहिले उपेक्षित जस्ता देखिएका छन् । कांग्रेसका सबैभन्दा पाका नेता केबी गुरुङ न त प्रत्यक्षतर्फ परे न त समानूपातिकको बन्दसूचीमा नै परे । पार्टीका पूर्वमहामन्त्री समेत रहेका गुरुङलाई कतै पनि अवसर नदिएपछि कांग्रेस कार्यकर्ताले उनको विषयमा चर्को कुरा उठाउन थालेका छन् ।

केबी गुरुङसहित धनराज गुरुङ, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, बद्री पाण्डे लगायतका नेताहरुले पनि यो पटकको चुनावमा कतै अवसर पाएनन् । गुरुङलाई कांग्रेसले यसअघि राष्ट्रपतिको उम्मेद्वार समेत बनाएको थियो । राष्ट्रपतिको उम्मेद्वार बनाएपनि हार्ने पदमा होमेर आफुलाई पार्टीले जिउँदो सहिद बनाएको गुनासो गुरुङले गर्दै आएका छन् ।

लामो समय नेपाली कांग्रेसमार्फत नेपाली राजनीतिमा खर्चिएका गुरुङ इलामबाट निर्वाचन लड्दै आएका थिए । आफ्नै चेलाहरु एमाले नेता झलनाथ खनाल र सुवास नेम्वाङबाट पटक–पटक पराजित भएका उनले कांग्रेस निर्माणमा भने पूरै जिवन समर्पित गरेका छन् । एकपटक मन्त्री समेत भैसकेका नेता गुरुङलाई पार्टीले सुरुदेखिनै महत्वपूर्ण जिम्मेवारी दिँदै आएको थियो ।

‘वीपी कोइराला भारतमा निर्वासित जिवन बिताइरहेका बेला कांग्रेसले मेलमिलापको नीति अख्तियार गर्यो । त्यसबेला कांग्रेसले नेपाल पठाउने नेताहरुमा केबी गुरुङ लगायतका नेताहरुलाई पठाउने निर्णय गरेको थियो, जबकि त्यसबेला कांग्रेसको प्रतिनिधित्व गरेर राजासँग वार्ता गर्न काठमाण्डौ आउनु निकै ठूलो जोखिमको विषय थियो ।

त्यस्तै राष्ट्रपतीय निर्वाचनमा पनि उनलाई नै उठायो तर अन्ततः उनले हारे । पार्टीले गरेका यस्ता सयौं जोखिमपूर्ण निर्णयहरुमा केबी गुरुङलाई जिउँदै सहिद बनाउने दुःस्साहसहरु पहिलेदेखि धेरै हुँदै आएका छन्,’ एक कांग्रेस नेताले बताए । त्यतिमात्र होइन पार्टीको १३ औं महाधिवेशनमार्फत शेरबहादुर देउवालाई सभपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकनै केबी गुरुङ थिए । सभापति देउवालाई समेत यो ठाउँमा ल्याउन उनले निकै ठूलो भूमिका खेलेका थिए । तर अन्ततः उनलाई पार्टीले अवसरबाटै बञ्चित गरेको कांग्रेस नेता कार्यकर्ताहरुको टिप्पणी छ ।

त्यस्तै,कांग्रेसका अर्का पूराना नेता लक्ष्मण घिमिरेले पनि यो पटक कुनै अवसर पाएनन् । कांग्रेसका पुराना र त्यागी नेतामध्येमा पर्छन् लक्ष्मण घिमिरे पनि । रामेछापमा जन्मेर सोही जिल्लालाई राजनीतिक कर्मभूमी बनाउँदै राष्ट्रिय राजनीतिमा उदाएका घिमिरेले लामो समय नेपाली कांग्रेसमा विताएका छन् । उनी पनि यो पटकको चुनावमा कतै परेनन् । त्यस्तै,कांग्रेसका अर्का जल्दाबल्दा र प्रभावशाली युवा नेता धनराज गुरुङलाई पनि यो अवसरबाट बञ्चित पारिएको छ ।

केबी गुरुङ र लक्ष्मण घिमिरे बयोबृद्धा नेता भएर अवसर कटाउँदै लगिएको महसुस गरिएपनि धनराज गुरुङ भने कांग्रेसभित्र उदाउँदा नेता हुन् । उनलाई भने चुनावमा कतै पनि अवसर नदिनु पार्टी नेतृत्वको एक्लौटी निर्णय गर्ने प्रवृत्ति हावी भएको कार्यकर्ताहरु बताउँछन् । धनराज गुरुङ कांग्रेसभित्र पर्खर वक्ता, इमान्दार र कांग्रेसभित्र ‘नयाँ कांग्रेस’ खोज्ने नेतामा पर्दछन् ।

त्यस्तै विनयध्वज चन्द लगायतका नेताहरुले पनि यो पटकको चुनावमा कतै पनि टिकट पाएनन् । जसका कारण कांग्रेसभित्र नयाँ गरम बहस सुरु भएको श्रोतको दाबी छ ।