अन्तर्राष्ट्रिय

यमनबाट प्रहार गरिएको ब्यालेष्टिक क्षेप्यास्त्र ध्वस्त

एजेन्सी । साउदी अरेबियाले यमनबाट प्रहार गरिएको ब्यालिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ। शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो। राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ।

यमनस्थित हुथी विद्रोही सम्बद्ध टीभी च्यानलले जनाए अनुसार क्षेप्यास्त्र किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल लक्षित थियो। हवाइ उड्डयन अधिकारीहरुले हवाइ ट्राफिक प्रभावित नभएको बताएका छन्। साउदी फौजले यस अघि पनि हुथी क्षेप्यास्त्र नष्ट गरेको भन्ने खबरहरु प्रकाशित हुने गरेका थिए तर घना जनसंख्या नजिकै नष्ट गरिएको यो पहिलोपटक हो।

यमनस्थित साउदी नेतृत्वको सैन्य गठबन्धनका एकजना प्रवक्ता टुर्की अल-मलिकीले भने, क्षेप्यास्त्र संघन जनसंख्या भएको ठाउँमा प्रहार गरेर सर्वसाधारणलाई निशाना बनाउन खोजियो। नष्ट भएका अंशहरु विमानस्थलमा मानिस नबस्ने स्थलमा खसेको उनले बताए। प्रत्यक्षदर्शीहरुले विमानस्थलको कार पार्कमा पनि टुक्राटाक्री खसेको बताए।