राजनीति

निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाइनेः रक्षामन्त्री

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार लागि परेको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा आज मन्त्री प्रधानले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने भन्दै निर्धक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न विगतका निर्वाचनमा झै तीनवटै सुरक्षा निकायलाई मिलाएर परिचालन गरिने उल्लेख गरे ।

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार समेत रहनुभएका मन्त्री प्रधानले कुन पार्टी मुलुकको हितमा छ भन्ने कुरा जनताले राम्रोसँग बुझेकाले काँग्रेसको पक्षमा बहुमत आउने दाबी गरे ।

सोही क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले जनता र विकासको आवश्यकताअनुरुपको एजेण्डा गठबन्धनले अघि सारेकाले जित सुनिश्चित रहेको जिकिर गरे ।

त्यसैगरी, विवेकशील साझा पार्टीका उम्मेदवार रमेश चिलुवालले देशको विद्यमान विसंगतिविरुद्ध संसदीय नीति बनाउने उद्देश्यले निर्वाचनमा होमिएको बताए ।