स्वास्थ्य

प्रसूति अस्पतालको कलेजमा पढाई सुरु

काठमाडौ । परोपकार तथा प्रसूति अस्पतालअन्तर्गत परोपकार नर्सिङ कलेजमा मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन शुरु भएको छ । अस्पतालका वरिष्ठ लेखाअधिकृत चन्द्रबहादुर गुरुङले त्यसका लागि कलेजले पाठ्यक्रम बनाउन शुरु गरिसकेको जानकारी दिए ।

उनले भने, “अहिले यसको पाठ्यक्रम बनाउने, भौतिक संरचना तयार पार्नेलगायतका आवश्यक तयारी थालिएको छ, भवन निर्माणको ७० प्रतिशत काम सकिसकेको छ । हामीले मिडवाइफ्रीको स्नातकोत्तर शिक्षा पनि पठाउने लक्ष्य राखेका छौँ ।”

नेपालमा पेशागत मिडवाइफ्री (प्रसाविका) को विकास गर्न सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । मिडवाइफ्री जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रम बनाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलमा १६ जनालाई मिडवाइफ्री पढाउन थालिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि छिट्टै मिडवाइफ्री अध्यापन शुरु गर्ने तयारी गरिरहेको छ । दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती, सुत्केरी र शिशुको मृत्युदर उच्च रहेकाले अन्य विद्यालाई भन्दा मिडवाइफ्रीलाई प्रमुखता दिइएको छ ।

मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा.किरण बज्राचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट पनि मिडवाइफ्री शिक्षा अध्यापन गर्ने तयारी भइरहेको बताइएको छ । अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने भएकाले एउटा दक्ष मिडवाइफ्रीले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने विश्वास लिइएको छ ।

यसै वर्ष शुरु भएको मिडवाइफ्रीमा हाललाई स्टाफ नर्सलाई अध्ययन गराइएको बताइएको छ । यसका लागि तीन वर्षमा करिब रु तीन लाख खर्च लाग्ने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसारमा नेपालमा महिला तथा नवजात शिशुको जीवन सुरक्षाका लागि थप नौ हजार दक्ष प्रसूतिकर्मीको आवश्यकता छ ।