राजनीति

काठमाडौं क्षेत्र नं. ५ का प्रभावशाली एमाले नेता सापकोटा कांग्रेस प्रवेश

काठमाडौं। नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका काठमाडौं क्षेत्र नं. ५ का प्रभावशाली नेता अच्युत सापकोटा घर फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नंं ४ मा दुई पटक वडा अध्यक्षमा निर्वाचित भएका सापकोटा कांग्रेस क्षेत्र नं. ५ का पूर्व सभापति समेत हुन ।
सापकोटालाई प्रधानमन्त्री एंव कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी प्रवेश गराएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले सापकोटालाई पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतको उपस्थिती रहेको थियो । सापकोटा महाराजगञ्ज, बालुवाटार, विशालनगर तथा हाडी गाउँ क्षेत्रमा समाजसेवा तथा विकास निर्माणमा सक्रिय रहेका लोकप्रिय नेता हुन ।
सापकोटाको प्रवेशले क्षेत्र नं. ५ मा नेपाली कांग्रेसको संगठनलाई महत्वपूर्ण टेवा पुगेको छ । पार्टी प्रवेश गर्दै सापकोटाले वाम गठबन्धनका नाममा मुलुकमा कम्युनिष्ट अधिनायकवाद लाद्ने षड्यन्त्र भएकाले आफु पुरानै घर फर्किएको बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन आफु सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।