राजनीति

कांग्रेस नेता जोशीलाई कसले उपयोग गरिरहेको रहेछ ? कांग्रेसले पायो संकेत, गर्यो अब यस्तो तयारी !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र यसबेला एउटा विषयले निकै महत्व पाएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट टिकट दिने कांग्रेसको निर्णयलगत्तै सोही पार्टीका अर्का नेता गोविन्दराज जोशीले सो क्षेत्रबाट आफुले टिकट पाउनुपर्ने रडाको झिकिरहेका छन् । उनले सो क्षेत्रबाट आफुले टिकट नपाए बरिष्ठ नेता पौडेलविरुद्ध बागी उम्मेद्वारी दिने समेत घोषणा गरिसकेका छन् ।

वास्तवमा यो विषयले अहिले नेपाली कांग्रेसभित्र निकै जटिल अवस्था ल्याउन सक्ने संकेत देखिदै गएको छ । आगामी कार्तिक १६ गतेभित्र नेता जोशीले बागी उठ्ने तयारीबाट पछि नहटे पार्टीले कार्वाहीनै गर्ने तयारी गरेको छ ।

रामचन्द्र पौडेल कांग्रेसभित्र अत्यन्तै त्यागी र निष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । पार्टीभित्र र पार्टी बाहिरका राजनीतिक लडाईहरुमा उनले थुप्रैपटक समपर्णभाव देखाइसकेका छन् । तर अहिले आफ्नो चुनावी क्षेत्रमै पार्टीका अर्का नेताले अवरोध हाल्न थालेपछि पौडेलमात्रै होइन, कांग्रेसका थुप्रै इमान्दार नेता–कार्यकर्ताहरुले नेता जोशीको कार्यशैलीप्रति औंलो ठड्याउन थालेका छन् ।

गोविन्दराज जोशीले अहिले तनहुँ १ बाट चुनावमा टिकट नपाए बागी उम्मेद्वार उठ्ने र कांग्रेसलाई हराउने अभियान थालेपछि उक्त पार्टीभित्र उनको गतिविधिलाई लिएर शंका समेत गर्न थालिएको छ ।

कतिपय कांग्रेस नेता–कार्यकर्ताहरुले नेता जोशीलाई कुनै अदृष्य शक्तिबाट परिचालन भएको आरोप लगाइरहेका छन् भने कसैले वाम गठबन्धनले उनलाई उपयोग गरिरहेको आरोप लगाइरहेका छन् ।

पार्टीका बरिष्ठ नेता पौडेललाई चुनावमा पराजित गर्नु भनेको सिंगो कांग्रेसलाई हराउनु सरह हुने भएकोले जोशीलाई एमालेले प्रयोग गरेको हुनसक्ने तनहुँ कांग्रेसकै नेताहरुले आशंका गरेका छन् ।

त्यसैले उनीहरुले नेता जोशीका पछिल्ला गतिविधिहरुप्रति खेद प्रकट गर्दै बागी उम्मेद्वारी दिने उनको योजना असफल पार्ने तयारी गरेका छन् । जिल्ला नेताहरुले पार्टी केन्द्रीय नेतृत्वसमक्ष जोशीलाई कार्वाही गर्न आग्रह गरिरहेका छन् ।

तनहुँवासी पार्टी केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेलले नेता जोशीका पछिल्ला गतिविधिहरु प्रति आशंका व्यक्त गर्दै उनको गतिविधिलाई नियन्त्रण गर्न पार्टी केन्द्रीय नेतृत्वलाई आग्रह गरिरहेको श्रोतको दाबी छ ।

किन आक्रमक भए जोशी ?
नेपाली कांग्रेसमा दुईपटक सम्म केन्द्रीय सदस्यमा पराजित भएका नेता जोशी तनहुँ १ बाट २०६४ सालको संविधानसभा निर्वाचनमै पराजित भएका नेता हुन् ।

२०७० सालको संविधानसभाको निर्वाचनमा नेता शंकर भण्डारीले चुनाव लडिरहँदा उनले पूर्णरुपमा असहयोग गरेका थिए । त्यतिमात्रै होइन उनले नेता भण्डारीविरुद्ध व्यापक दुष्प्रचार समेत गरेको तनहुँ कांग्रेसका नेता–कार्यकर्ताहरु बताउँछन् । यद्यपि, यो कुरालाई नेता जोशी स्वीकार गर्दैनन् ।

उनले कांग्रेसका अरु नेताहरुलाई भन्दा आफुलाई तनहुँका जनताहरुले पत्याउने भएकोले आफुले उम्मेद्वारी दिन लागेको बताउँदै आएका छन् । अदालतमा भ्रष्टाचारको मुद्धा समेत खेपिरहेका नेता जोशीलाई कांग्रेस कार्यकर्ताहरुले दुई पटकसम्म केन्द्रीय समिति सदस्यमा पराजित गरिदिएका थिए । यसरी आफ्नो राजनीतिक क्यारियरमा एक पछि अर्को धक्का ब्यहोर्दै आएका नेता जोशीले यो पटक पनि चुनावी टिकट नपाएपछि थप आक्रमक भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

कसले उपयोग गर्दैछ जोशीलाई ?
नेता जोशीको पछिल्लो रबैयाप्रति आशंका गर्दै कांग्रेस नेता–कार्यकर्ताहरुले उनलाई बाम गठबन्धनले उपयोग गरेको हुनसक्ने आशंका गरेका छन् । पार्टीको केन्द्रीय नेतृत्वलाई पराजित गर्न सफल भए वाम गठबन्धनको मिसन पुरा हुने भएकोले पौडेलका विरुद्ध जोशीलाई उपयोग गरेको हुन सक्ने आशंका गरिएको छ ।

यद्यपि, यो कुरालाई नेता जोशी स्वीकार गर्दैनन् । उनले तनहुँका जनताले बरिष्ठ नेता पौडेललाई भन्दा आफुलाई पत्याउने भएकोले उम्मेद्वारी दिएको बताउँदै आएका छन् ।