पु.समाचार

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डले वार्षिक कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो ।

तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिदिए ।

तालीमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ÷गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालीम दिइने उनले जानकारी दिए ।

बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर÷वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ ।

यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालीम लिएकाले विदेश गएपछि  बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ ।

निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यहीमध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालीममा सहभागी हुन उनको आग्रह छ ।

सकेसम्म सातै प्रदेशमा त्यस्ता तालीम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उहाँको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालीमप्राप्त गर्ने रोजगारीमा जानेछन् ।