खेलकुद

म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले माउरिसिओ पोकेटिनोको टिम  टोटनह्यामलाई १–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा विजयी गोलका लागि  म्यानचेस्टर युनाइटेडले खेलको अन्तिम समयसम्म पर्खनु परेको थियो । यो सिजनका सर्वाधिक गोलकर्ता स्टार स्ट्राइकर ह्यारी केन बिना मैदान उत्रिएको टोटनइह्यामले युनाइटेडलाई निकै कडा चुनौती दिएको थियो । पहिलो हाफमा गोलरहित

बराबरी भएको खेलमा एन्थोनी मार्शलले ८१ औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । थप खेलाडीको  रुपमा मैदान छिरेका मार्शलले टिमका लागि महत्वपूर्ण गोल गरेका हुन् ।

जितपछि १० खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम रहन सफल भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २८ अंक छ । २० अंकसहित टोटनह्याम तेस्रो स्थानमा यथावत रहेको छ ।