कुराकानी

काँग्रेसले बीपीको सिद्धान्त बिर्सिएर टिकट बितरणमा डन, पैसा र चाकरीलाई महत्व दिएको हुनाले जनताको बिकल्पका लागि पार्टी खोलेका हौं (अन्तरवार्ता)

नेपाली कांग्रेसबाट लामो समय प्रजातान्त्रिक आन्दोलनमा बिताएका नेता हरिबोल भट्टराईको नेतृत्वमा अहिले नयाँ पार्टी निर्माणको सुरुवात गरिएको छ । कांग्रेसमा लामो समय बिताएका इमान्दार र निष्ठावान नेता–कार्यकर्ताहरुको साथ रहेको भनिएका सो पार्टीले वीपी कोइरालाको विचार र आदर्शलाई पछाइरहेको नेता भट्टराईको दाबी छ । नेपाली काँग्रेस (बीपी)नाम राखिएको सो पार्टीको आगामी रणनीति र कार्यनीतिक अब कसरी अघि बढ्ला त ? भन्ने प्रश्नहरुसहित समग्र प्रजातान्त्रिक आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा केन्द्रीत रहँदै उनै नेता भट्टराईसँगको समसामयिक अन्तरवार्तालाई हामीले यो पटक यहाँ प्रस्तुत गरेका छौ ।

नेपाली कांग्रेसमा तपाईले चारदशक भन्दा बढी समय बिताउनुभएको छ, अहिले आएर अर्को पार्टी स्थापना गर्नुभयो नि किन ?
–नेपाली कांग्रेसभित्र पछिल्लो समयमा खस्कदै गएको वैचारिक दृष्टिकोण र राजनीतिक संस्कारले इमान्दार र निष्ष्ठावान नेता कार्यकर्ताहरु अन्यायमा परे । त्यसकारण हामीले अर्को पार्टी निर्माण गर्ने अभियानको सुरुवात गरेका हौं ।

कांग्रेस नेतृत्व वीपीले लिएको सपना त्यागेर आफनो व्यक्तिगत स्वार्थमा डुब्यो भन्न खोज्नुभएको हो ?
कुनै पनि व्यक्तिले राजनीति गर्ने भनेको सत्ता र स्वार्थकै लागि हो । अहिलेको राजनीति भनेको गुण्डाहरुलाई आफ्नो हातमा लिने र व्यपारको रुपमा लिन थालिएको छ । त्यो भन्दा दुर्भाग्यको कुरा के हुनसक्छ । अर्को कुरा जो संघर्ष गरेर आएका मान्छे थिए, कोहीले शहादत्त प्राप्त गरिसके । बाँचेका साथीहरुको पनि अवस्था ठिक छैन । नचाहिँदा मान्छेहरुको पार्टीमा जमघट भयो । पार्टीमा जसरी वैचारिक र चारित्रिक विचलन आयो, त्यसरी नै सांगठानिक रुपमा पनि अस्तव्यस्त भयो । जसको परिणाम पार्टी झन् झन् खिइँदै गयो ।
मेरो राजनीतिक इतिहास निकै लामो छ, र यो पार्टीको बारेमा सुरु देखिनै थाहा छ ।

मलाई थाहा छ २०१७ सालमा राजाले ‘क’ू गर्दा मलाई निकै चिन्ता लागेको थियो । म २०२१ सालदेखि पार्टीमा आबद्ध भए । अहिले आएर पार्टीको अवस्था देख्दा चिन्ता लागेर आउँछ । पार्टी बनाउने हाम्रो पनि दायित्व हो । पार्टीभित्र सुधार गर्ने प्रयासहरु गरिनुपथ्र्यो, गरिएका प्रयासहरु पनि निरर्थक भए । २०४६ सालको आन्दोलन सम्पन्न भएपछि हामी निकै खुसी थियौ । अब देशले फड्को मार्यो । यो आन्दोलनपछि देशमा कायापलट हुन्छ, समृद्ध हुन्छ, सामाजिक न्यायको बाटोमा जान्छ र देशमा सुशासन मिल्छ भन्नेमा हामी थियौं । त्यतिबेला जनता र कर्मचारीको समेत मनोबल उठेको थियो ।

त्यसबेलाको त्यो स्थिति विस्तारै खस्किदै गयो । नातावाद, कृपावाद, डनवादी संस्कृति विकास भयो । नभन्दै अहिले त हरेक सरुवा–बढुवादेखि सबै कुुराहरुमा पैसाको मात्रै कुरा हुन्छ । भ्रष्टाचार अति व्याप्त भयो, सुशासन भन्ने कुरा नै भएन । वीपीको विचारमा जोडिएको राष्ट्रियताको कुरै छाडौ, विदेशीहरुको इशारामा सबै कुरा हुन थाल्यो ।

हुँदाहुँदा संविधान निर्माणमा समेत विदेशीहरुको विचारहरु लिएर ऐन,कानुनहरु निर्माण भैरहेका छन् । हाम्रो देश अहिले प्रयोगशाला भएको छ । उत्तरले उत्तरतिर तान्छ, दक्षिणले दक्षिणतिर तान्छ, पश्चिमले पश्चिमतिर तानिरहेको छ । धर्ममा राजनीति भैरहेको छ । नेपालमा अहिले आफ्नो धर्म, संस्कृति र मौलिकताको नास भैरहेको छ । नेपालमा विद्यमान वैद्धिक सभ्यता त ठूलो सभ्यता हो । त्यस्तो सभ्यता बोकेको सभ्यतालाई रोक्न खोज्नु अपराध हो । त्यसैले यी यावत कुराहरुमा हामी ओरालो लाग्दै गएका छौ ।

तपाइँले ५३ वर्ष कांग्रेसमा लगानी गर्नुभो, मुलुकमा यस्तो अवस्था देखिएको छ, त्यस्तै कांग्रेसभित्र पनि यावत समस्याहरु छन्, यिनलाई शुद्धीकरण गर्ने भूमिका खेल्न सक्नुभएन ?
–२०४६ सालको जनआन्दोलनपछि पार्टीहरुमार्फत बुथ क्याप्चर गर्ने र सांसदहरु किनबेच गर्ने कामको सुरुवात हुन थाल्यो । त्यसले हामीले प्रजातन्त्रमार्फत सोचेको अभिष्ट पूरा हुँदैनथ्यो । त्यसैले त्यतिबेलै मैले खबरदारी पनि गरेको थिए । त्यसबेला महेश आचार्य अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँलाई पनि खबरदारी गरेको थिए ।

यहाँ ब्याड मनीको प्रयोग हुन थालेको छ । यस्तै हुँदै जाँदा निष्ठावान कार्यकर्ताहरु विस्थापित हुने खतरा रहन्छ । यसले पार्टीलाई कहाँ पुर्याउँछ ? भन्ने प्रश्न मैले त्यसबेला नै गरेको थिए । यसरी अघि बढ्दा प्रजातान्त्रिक संस्कृति हराउँदै गएको छ, प्रजातान्त्रिक संस्कृति हराउँदै गयो भने प्रजातान्त्रिक विचार पनि रहँदैन, यो तरिकाले हामी कहाँ पुग्दैछौ ? भनेर मैले त्यसैबेला कुरा उठाएको हो । त्यतिबेला देखि सुरु भएको विकृति र विसंगतिले यो अवस्थामा पुर्याएको छ ।

अहिले त वीपी कोइरालाले अघि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारलाई छोड्ने काम समेत भएको छ । जुन विचारले देशलाई शसक्त पार्न सक्छ, सामाजिक न्याय दिन सक्छ, देशलाई समृद्ध र समुन्नत तुल्याउन सक्छ । त्यस्तो विरासतमा त्यत्रो पाउँदा पाउँदै पनि साम्यवादी र सामन्तवादी विचार बोक्नेहरुको लहैलहैमा लागेर हिड्ने काम भएको छ ।

वीपी पथनै छाडेर प्रचण्डपथमा हिड्नुपर्ने जरुरी के थियो र ? सत्ताकै लागी प्रचण्डसँग जोडिएर हिडे । माओवादीको हसिया–हथौडामा भोट हाल्ने काम भयो । त्यस्तै,जसले प्रजातन्त्रलाई लुटे उनै सामन्तवादीहरुको पनि सहारा लिने काम भयो । कहिले उग्रवादीहरुसँग त कहिले सामन्तवादीहरुसँग गएर सम्झौता गर्ने काम भयो । जनताको साथ लिएर हिम्मतका साथ अघि बढेको भए अरुको बैशाखी टेकेर अघि बढ्नुपर्ने कांग्रेसलाई जरुरत थिएन । कांग्रेसको त्यति ठूलो इतिहास छ ।

-हरिबोल भट्टराई सुर्यखबर प्रतिनिधिसंग कुराकानी गर्दै

अहिले कांग्रेस पार्टी सभापतिले वीपीका विचारअनुसार पार्टी हाँक्न सक्नुभएन भन्ने तपाईको कुरा हो ?
–मैले कांग्रेस पार्टी सभापतिलाई मात्र भनिन्, कांग्रेसको अभियाननै ओरालो लाग्दै गयो । हामी तल गिर्दै गयौ । हुँदाहुँदा शेरबहादुरजीको पालमा आइपुग्दा त गए गुज्रेकै भयौं । एउटा प्रधानन्यायीश, डिआइजीकै विषयमा फस्दै जाने, कर्मचारी र ठेक्कापट्टाका विषयमा समेत चुक्दै जाने काम हुन थालेका छन् । यसरी धेरै नराम्रा कुराहरु देखिन थालेका छन् ।

धेरै विषयमा कांग्रेसले अर्काको वैशाखी टेक्नुपरिरहेको अवस्था छ । यसरी अतिनै हुन थालेपछि त हामीले सहन सकेनौ । हामीले हाम्रो एक मुठी सास रहुन्जेल पनि सही बाटोका लागि संघर्ष गर्नैपर्छ भन्ने ठहर गर्यो र त्यसका लागि लागिरहेका छौ । यदि अन्यायको विरुद्ध संघर्ष गरिदैन भने हामीले पनि अन्याय गरेको ठहर्छ । वीपीले जे–जे भन्दै आउनुभएको छ, त्यो अक्षरश सत्य हुँदै आएको छ ।

उहाँले पार्टीभित्र इमान्दार कार्यकर्ताहरुले संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने लगायतका कुरा गर्नुभएको थियो, त्यो अवस्था अहिले आएको छ । हामी निष्ठावान र इमान्दार कार्यकर्ताहरुले यसलाई सही बाटोमा ल्याउन संघर्ष गर्नैपर्छ । हामीले वीपीको मार्गमा पार्टीलाई अघि बढाउनैपर्छ । तबमात्र मुलुकको कल्याण हुन्छ, त्यसैले हामीले नयाँ पार्टी निर्माणको अभियान सुरु गरेका हौं ।

तपाईहरु अहिले त्यही अभियानमा हुनुहुन्छ, यो अभियानलाई सार्थक रुप दिन सकिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ हैन ?
–हामी यसमा पूर्णरुपमा विश्वस्त छौ ।सबैभन्दा ठूलो बल विचारमा हुन्छ । विचार सही भएपछि जनताको साथ पाइन्छ । हामीले शुद्ध विचार लिएर इमान्दारिताका साथ जनतामा गयौं भने हामीलाई जनताले साथ दिन्छन् नै । यो निर्वाचनमा पनि हामीले यसरी नै जाने तयारी गर्नुपर्छ ।

अहिले तपाईहरुको पार्टीले सबै प्रदेश र प्रतिनिधिसभामा उम्मेद्वारी दिएको छ ?
अहिले सबैमा छैन किनभने हामीसँग पैसा छैन, पैसा हुनेहरुले सबै ठाउँमा उम्मेद्वारी दिने हो ।हामी त शुद्ध विचार लिएर जाने हो । वीपीको विचारलाई लिएर जाने हाम्रो अभियान हो । अहिले हामीले चुनावमा त जानैपर्यो । संगठन पनि निर्माण गर्दै जान्छौ । अर्को चुनाव आउने बेला सम्ममा हामी जनतालाई आफ्नो विचारले प्रभावमा पार्छौ भन्नेमा विश्वस्त छौ ।

अहिले तपाईहरुले तत्काल सांगठनिक र रणनीति प्रक्रियाचाहि कसरी अघि बढाइरहनु भएको छ नि ?
–अहिले हामीले तत्कालका लागि २७ जनाको केन्द्रीय समिति बनाएका छौ । जसमा म सभापतिको रुपमै रहेको छु । अब हामी विस्तारै त्यसलाई नयाँ ढंगको सांगठानिक ढाँचामा लैजादैछौ ।

तपाईहरुलाई नेपाली कांग्रेसको केन्द्रीय समितिले वार्तामा बोलायो भने के गर्नुहुन्छ ?
वार्तामा बस्दा हाम्रो पनि शर्त हुन्छ । हामीले कसैको विरोधमा यो संगठन निर्माण गरेका छैनौ । हामीले कांग्रेसले वीपीको विचारमा हिड्नुपर्छ भन्ने मान्यताका साथ यो अभियान सुरु गरेका हौ ।

त्यो आग्रहलाई उहाँहरुले मान्नुहुन्छ भने हामी त्यसका लागि सहमतिमा आउन तयार छौ । संगठनभित्र रहेका गुट उपगुटलाई व्यवस्थापन गरेर पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउँछौ र मुलुकलाई पनि हामी एउटा सिस्टममा लैजान्छौ भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो भने मात्र हामी सहमति गर्छौ नभए हामी आफ्नो बाटो तय गर्छौ ।

तपाईले २०२१ सालदेखि २०७४ सालसम्म गर्नुभएको योगदानबारे केही भनिदिनुस् न ?
–२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गर्दा म १४ वर्षको थिए । त्यतिबेला राजाको कदमले मलाई दुःख लागेको थियो । म कक्षा १० मा पढ्दै थिए,एकजना साथीले मलाई प्रजातन्त्रको अपरहण भो भन्ने खबर सुनाएका थिए । त्यसबेला मलाई नराम्रो लागेको थियो । त्यसपछि म राजनीतिमा लागेपछि मैले राजनीतिक र सामाजिक काम पनि धेरै गर्दै आएको छु ।

यही काठमाण्डौ क्षेत्र नम्बर १ मा पनि म विभिन्न सामाजिक र शैक्षिक सेवामा क्रियाशील रहँदै आएको छु । म यहाँका प्राइमरीदेखि कलेजसम्मकै व्यवस्थापन समितिको नेतृत्वमा पनि रहँदै आएको छु । वानेश्वर क्यम्पसमा म २०४७ सालदेखि नै लगातार रुपमा अध्यक्ष रहेको छु । त्यस्तै अन्य थुप्रै सामाजिक र शैक्षिक सेवामा पनि म क्रियाशील छु ।

मैले रत्नराज्य स्कुलको प्रधानाध्यापक समेत भएर काम गरेको छु । रत्न पुस्तकालय निर्माण गरेर त्यसको संस्थापक पनि भए । पञ्चायतकालमा पनि मैले शिक्षाको माध्याम र त्यसकै आवरणमा राजनीतिक चेतना पनि दिने काम गरे । हामीले यो क्षेत्रका बाटाघाटा पनि बनायौं । त्यही बीचमा मैले पञ्चायतकालमा वीपी किसुनजीहरु प्रवास र त्यसपछि जेलमा बसेका खबरहरु सुने । सुवर्णशम्शेरहरु प्रवासमा बसेर काम गर्दै हुनुहुन्थ्यो । त्यही बीचमा म नेपाली कांग्रेसमा आबद्ध भए ।

प्रजातन्त्रका लागि लड्ने पार्टी भनेको कांग्रेस हो र यसका लागि प्राण त्याग्नु परेपनि परोस् भनेर म लागे । म २०२६ सालमा पक्राउ परे । २०२८ सालमा रामराजा काण्ड भयो । रामराजाप्रसाद सिंहलाई ४५ दिनसम्म भूमिगत राख्ने काम मैले गरे । उनलाई त्यसबेलाको राष्ट्रिय पञ्चायतको सरकारले खुबै खोजिरहेको थियो । त्यहीबेला उनलाई राष्ट्रिय पञ्चायतको सपथ ग्रहणभित्र पुर्याउनुपर्ने थियो, उनलाई त्यहाँ पुर्याउन मैले नै भूमिका खेलेको हो । मैले उनलाई पुलिसको घेराभित्रबाट त्यहाँ पुर्याएको थिए ।

त्यसेबला मैले राजा महेन्द्रसँग समेत कुराकानी गरेको थिए । राजा महेन्द्रले त्यसबेला मलाई सहयोग गरिदिनुपर्यो भन्ने आग्रह गरेका थिए । उनले त्यसबेला मलाई जे सहयोग गर्न पनि तयार छु भनेका थिए । राजा महेन्द्रले त्यसबेला पञ्चायतलाई मौलिक ढंगले लैजान खोजेको तर ‘तिमीहरु जस्ता विद्धानहरुलाई नै मन परेन भने मैले के गर्ने ? यसलाई परिवर्तन गर्न सकिन्छ आउ सल्लाह गरौ’ भनेका थिए ।

उनले पञ्चायतकाललाई दुई विकसित मुलुकको बीचमा रहेको नेपालमा मौलिक शासनको अभ्यास गरेको भनेका थिए । मैले राजालाई ‘जनताले खोजेको सिस्टमका कुरा हो,म मन्त्री भएर मात्र केही हुने होइन सरकार’ भनेर जवाफ फर्काएको थिए । मलाई त्यसबेला भद्रगोल जेलबाट ल्याएर रानीपोखरीको डिलमा रहेको अञ्चलाधीश कार्यालयमा कुराकानी गरिएको थियो ।

म जम्मा ७ वर्ष जेलमा बसे । म त्यसबेला खोटाङ र भोजपुरका जेलहरुमा पनि बसे र उपत्यकाका विभिन्न जेलहरुमा पनि बसेको छु । यसरी आफु एकजना मरेर देश बन्छ भने मर्न तयार हुनुपर्छ भनेर निष्ठापूर्वक लागियो अहिले त यस्तो अवस्था पो देख्नुपर्यो । म मात्र होइन मार्शलजी, दामोदर गौतम, श्यामलाल श्रेष्ठ लगायतका साथीहरुलाई पनि बेवास्ता गरियो । प्रजातन्त्रका लागि ज–जसले योगदान गर्नुभयो, यिनीहरुले कसैको कदर नै गरेनन् । हामीलाई मात्र बेवास्ता गरेको भए त हुन्थ्यो नि जनतालाई समेत राम्रो गरेनन् ।

तपाईले महेन्द्रको पालाको कुरा गर्नुभयो, वीरेन्द्रको पालाको स्मरण पनि सुनाउनु न ?
–राजा वीरेन्द्रको पालमा मेरो खासै धेरै कुरा त भएन । म त्यसबेला बहुदलको तर्फबाट अन्तिम प्रधानपञ्चमा विजयी भएको थिए । चुनावमा मैलै अत्याधिक मतले जितेको थिए । पछि मलाई राजा वीरेन्द्रले एउटा प्रस्ताव राख्नुभयो । त्यसबेला अञ्चलाधीश धर्मबहादुर थापा हुनुहुन्थ्यो । त्यसबेला उहाँसहित राजा वीरेन्द्रले नयाँ निर्वाचित प्रधानपञ्च, राजधानीको प्रधानपञ्चको घर पनि छैन, गाडी पनि छैन, उहाँलाई केही समस्या छ भने सोध्नुहोला भनेर त्यसबेलाका कार्यकारी अधिकृतमार्फत सोध्नुभएछ ।

अञ्चलाधीशले राजासँग भेट गर्दा त्यो कुरा भएछ । कार्यकारी अधिकृतले मलाई त्यो कुरा सुनाए । तर मैले उनलाई ‘सरकारले आफ्नो सुःख, दुःखका बारेमा चासो राखेकोमा आभार व्यक्त गर्दै आफु जुन अवस्थामा छु त्यसैमा ठिक छु’ भनेर भनिदिनु भनेर सुनाए । त्यसरी मैले राजालाई सन्देश पठाएको थिए । त्यसबेला उनी राजा थिए तर हाम्रो उनीसँग संघर्षनै चलिरहेको थियो । यो २०४४ सालको कुरा हो । म त्यसबेला आफैमा शारीरिक रुपमा पनि निकै स्वस्थ थिए, कुनै लोभ लालच थिएन, मैले काम गर्दा पनि कुनै दुई पैसा यताउति गरिन । त्यसैले मेरो आत्मबल निकै मजबुत थियो ।

मलाई एउटा घटनाको स्मरण अहिले पनि भैरहेको छ । एकजना विदेशीले मसँग भेटौ भने । उनी भारतीय राजदूतासको गेष्ट भएर आएको भन्ने कुरा सुनाए । मलाई सरकारले पठाएको भनेर उनले भेट गरे । हामीले होटल अन्नपूर्णमा भेट गर्यौ । उसले सुरुमा त नेपाल र भारतबीचको सम्बन्धबारे राम्रै कुरा गर्यो । पछि सहयोगको कुरा गर्न थाल्यो ।

तपाई त प्रजातन्त्रको लागि लडेको यति ठूलो उचाई प्राप्त गरेको व्यक्ति भन्दै उसले हामी यहाँलाई के सहयोग गर्न सक्छौ भनेर लोभ देखाउन थाल्यो । त्यसपछि म यति धेरै रिसाएछु कि मैले उसलाई हप्काएछु नै । म जनताको नेता मसँग यस्ता कुरा गर्न मिल्दैन भनेर म त्यसबेला उठेर हिँडेको थिए । यस्तो कुरा धेरै छन् मेरो स्मरणमा ।

अब २०४८ सालपछिको स्मरण बताइदिनुस् न ?
–२०४८ सालबाट पार्टीभित्रबाटै ममाथि अन्याय हुन सुरु भयो । गणेशमानजीले चाहि मलाई निकै माया गर्नुहुन्थ्यो । उहाँले कुनै पनि कार्यकर्ता दुईवटा टेष्ट पास नगरी पूर्ण हुँदैन भन्नुहुन्थ्यो । एउटा संघर्षमा समपर्ण हुने कुरा र अर्को उ आफै जिम्मेवार बन्ने कुरामा उहाँले जोड दिनुहुन्थ्यो । जिम्मेवारी त मैले निर्वाह गरेको थिए ।

प्रकाशमान त्यसबेला सानै थिए । गशेणमानले उहाँलाई सानै छ सिकाउँदै लानुपर्छ भन्नुहुन्थ्यो । पछि प्रकाशले पनि राजनीतिक जिम्मेवारी लिन थाल्नुभयो । उहाँको बानी कस्तो भने सबैलाई राजनीतिक रुपमा सँगै लिएर हिडौं भन्ने रहेनछ । उहाँको बानी पुराना मान्छेहरुलाई स्थान दियो भने उनीहरु माथि पुग्छन्, आफुचाहि त्यहीको त्यही हुन्छु भन्ने देखियो ।

उहाँले पुराना जति सबैलाई कटाउँदै जानुभयो । काठमाण्डौको सभापति हुँदै माथिनै पुग्नुभो । त्यसपछि अहिले आएर त म लगायत मनमोहन भट्टराई, अच्युत थापा लगायतले बनाएको क्षेत्रमा आएर उहाँले जित्नुभो । उहाँ एक्कासि यहाँ आउनुभयो । हामीले पसिना बगायौं, उहाँले फल खानुभो । एकजोटी जिताइयो ठिक छ, तैपनि राजनीतिक संस्कारको कुरा देखिएन । त्यसपछि हामी विस्तारै कांग्रेसभित्र कट्दै जान थाल्यौं ।

अहिलेको तपाईको उम्मेद्वारीचाहि प्रकाशमानलाई हराउन हो कि स्वच्छ ढंगले आफ्नो जितका लागि हो ?
मेरो उम्मेद्वारी त स्वच्छ विचार र राजनीतिक संस्कारका लागि हो ।

तपाईको उम्मेद्वारीले अहिले कम्युनिष्टहरुको वाम गठबन्धनलाई सहयोग पुग्दैन र ?
–कांग्रेसकै कुरा गर्नुहुन्छ भने अहिले कोसँग गठबन्धन छ ? हिजो जसले प्रजातन्त्रको घाँटी निमोठ्यो उहीसँग गठबन्धन भैरहेको छ । हिजो उग्रवादीहरुको साथमा गए, आज प्रजातन्त्रको घाँटी निमोठ्नेहरुको साथमा पुगेका छन्, अनि कसरी सहयोग गर्ने त ? प्रजातन्त्रको लागि यति लामो संघर्ष गरेको मान्छे अहिले ७० वर्षको उमेरमा आएर प्रजातन्त्र कमजोर पार्न जाने मेरो उद्धेश्य होइन । यसमा म सचेत छु ।

त्यसो भए पशुपति शमशेर र बाबुराम भट्टराई उम्मेद्वार बनाउनु राम्रो होइन ?
–यो पनि राम्रो होइन । यो त अवसरवादी गठबन्धन हो, सत्ताका लागि ।

अन्तमा केही भन्नु छ ?
मलाई मेरो विचार राख्न दिनुभएकोमा सुर्यखबर डटकमलाई पनि धन्यवाद ।