पु.समाचार

राजविराजबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, गाडी नदीमा बेपत्ता

मलेखु । राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पुर्याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नंसमेत नखुलेको जनाएको छ ।